सूचनाको शक्ति - The Power Of Information

        

चैनपुर सेती जलविद्युत आयोजनाको निर्माण तीव्र गतिमा

२१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ । बझाङको तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु गरिएको यो आयोजनाको कामले तीव्रता पाएको हो । अहिले आयोजनाको अडिट सुरुङको निर्माण सुरु भइरहेको छ ।

आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले ३ वटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ । एउटा अडिट सुरुङ १३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ ।

एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको उनले बताए । ४ वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । ६ वटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिए ।

उनका अनुसार ४५० मिटर लामो अडिट नं ३ सुरुङमा सबैभन्दा बढी १३० मिटर सुरुङ खनिएको छ । ‘बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छ वटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँध लगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ,’ उनले भने ।

चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताए । उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताए । उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर खन्ने काम सकिन्छ । माटो बढी भएको ठाउँमा दिनमा ५ मिटरसम्म पनि काटिने गरेको उनले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार १५:१८

लोकप्रिय