असार पहिलो सातासम्म पनि मनसुनी वर्षा नहुँदा पश्चिम नेपालका कतिपय पानीका मुहान सुक्न थालेका छन् । हिउँदमा पनि कम पानी परेको यहाँ लामो खडेरीले पानीका मुहान सुक्दै जान थालेका हुन् । कैलालीको कैलारी गाउँपालिका ९ देवीगञ्जका जञ्जीरु चौधरीले भूमिगत जल सतहको मात्रा घटेको बताए ।
नल्का र बोरिङबाट थोरै पानी आउन थालेको बताउँदै उनले यहाँ बग्ने नदी नालाका पानी पनि सुकेकेपछि खेतीपाती गर्न मात्रै होइन, बस्तुभाउलाई खुवाउन पनि समस्या भएको सुनाए । यहाँका बह्रौमास बग्ने मोहना, घुराहा, कटैनी, खुटिया, कान्द्रा, पथरैयालगायत नदीको पानी सुक्न थालेका छन् । साथै भूमिगत जलको रिचार्जको माध्यमको रुपमा रहेका तालतलैया समेत सुकेका छन् ।
केही साताअघि मात्रै कहिल्यै नसुक्ने धनगढी उपमहानगर क्षेत्रकै ठूलो जाखोर ताल सुकेको धनगढी उपमहानगरपालिका ७ का स्थानीय नन्दलाल रानाले बताए । अझै केही साता पानी नपरे पानीको हाहाकार भई विकराल अवस्था सिर्जना हुने स्थानीय बताउँछन् ।अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बेला बर्खे धान खेतीको तयारीमा रहेका किसानहरू अझै चिन्तित बनेका छन् ।
रोप्नलाई धानको बेर्ना ठिक्क भएपनि पानी नपर्दा किसानहरू अकाश हेरेर दिन कटाउनुपर्ने विवशता थपिएको हो । कैलालीको कैलारी गाउँपालिका ८ टेढीका किसान भागवानदास चौधरीले एक साताअघि मात्रै बोरिङले सिँचाइ हुने करिब एक विघा जमिनमा रोपाइ गरे । तर पानी नपर्दा र अत्यधिक गर्मीले उनले रोपेको धान खेतमा ठुला–ठुला धाँजा फाटेको छ भने, रोपेको धान पनि मर्न लागेको बताए ।
रोपेको धान सिँचाइ गरिसकेको बताउँदै उनले अरू खेतमा भने पानी परेपछि मात्रै रोपाइ सुरु गर्ने सुनाए । धान रोपाइ गरिसकेका कैलालीको गौरीगंगा नगरपालिकाका स्थानीय माघुराम चौधरीले पानी नपर्दे रोपाइ गरेको र गर्मीले धान सुक्न थालेपछि सिँचाइ गर्नुपर्दा हाल पछुतो भइरहेको सुनाए ।उसो त नेपालमा मनसुन भित्रिएको एक साता बितिसकेको छ ।
तर यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले सुदूरपश्चिम प्रदेशमा आउन अझै समय लाग्ने बताइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जनाएको छ । मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । साथै बाढी, पहिरोले धनजनको क्षति समेत गराएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कैलाली