अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने आशङ्का व्यक्त गरेका छन् ।
डुडुवा गाउँपालिका–३ का किसान बिकाउ लाल यादवले जेठ महिना सकिन लागिसक्दा पनि पानी नपरेपछि मोटरको प्रयोग गरी धानको बिउ लगाएकोमा प्रचण्ड घामका कारण सुक्न थालेको बताए । उनले छिमेकीको मोटरबाट पानी तानेर बिउ राखेका थिए । बिउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बिउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको यादवले बताए ।
सोही प्रकारले नरैनापुर गाउँपालिका–२ का किसान रहमान जोलाहाले अत्यधिक गर्मी र घामका कारण पानीको अभावले बिउ राख्न नकिएको बताए । उनले जेठ महिनामा पानी पर्ला र बिउ राखौंला भनेर बसेकोमा गर्मीले जमिन नै चिराचिरा परेको बताए । सो पालिकाका अन्य किसानले पनि घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न नसकिएकाले नै बिउ राख्न नसकिएको बताएका छन् ।
उता, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले यसवर्ष भिषण गर्मी परेको र वर्षा हुन ढिलाइ भइरहेकाले जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको बताए । उनले सिँचाइको उपलब्धता बिना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लो पटक बढ्दै गएको गर्मीले निराश बनाएको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुरी, राप्तिसोनारी र बैजनाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए । बाँके जिल्लामा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो ।
अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टाले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके