२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

१० किलोमिटर टाढाबाट सदरमुकाममा खानेपानी

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ । सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।

विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका मानबहादुर थापाले बताए । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु २८ करोडमा बोलपत्र आह्वान गरेकामा रु १३ करोड ७१ लाख २९ हजारमा आयोजना निर्माण गरिएको उनले बताए ।

‘आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटर रहेको छ,’ उनले भने, ‘खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन केही समय लाग्नेछ ।’ चुलीमालिका बृहत खानेपानी आयोजना निर्माण भएमा नगरपालिकाको वडा नं.१ देखि ४ सम्मका एक हजार ३०० घरमा ‘एक घर एक घारा’को लक्ष्य छ ।

सदरमुकाम मान्म बजारमा एक लाख २५ हजार लिटरका दुईवटा, ५० हजार लिटरका दुई, ४० हजार लिटरको एक र २५ हजार लिटरको एक गरी जम्मा छ वटा ट्याङ्की रहेका र ती सबैमा पानी झारिने प्रालिका साइट सुपरभाइजर थापाले बताए ।

जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमित रूपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । ‘अब सदरमुकाममा खानेपानीको अभाव झेल्नुपर्दैन,’ उनले भने, ‘केही समय लाग्ला सबैले खानेपानीको सुविधा पाउनुहुनेछ ।’

प्रकाशित मिति : २०८१ जेठ ६ गते आइतबार