सूचनाको शक्ति - The Power Of Information

        

नेपाल भ्रमण दशक कार्यान्वयनमा

लयमा फर्किन थाल्यो पर्यटन व्यवसाय

‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकमा वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकको लक्ष्य छ ।

लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसाय अहिले लयमा फर्किन थालेको छ । नेपालका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । विभिन्न देशबाट भित्रिने पर्यटक आगमन सङ्ख्या बढिरहेको छ । सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी नेपाल भ्रमण दशक (२०२३–०३२) अवधारणा स्वीकृत भई कार्यान्वयनमा ल्याएको छ ।

कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको घोषणा भएको हो । ‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकमा वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकको लक्ष्य छ । विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्ष लगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन ।

विगतको अनुभवबाट पाठ सिक्दै भ्रमण दशकको कार्यान्वयन गर्न ल्याइएको कार्ययोजना अनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्याउन लक्ष्य लिइएको छ । पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ ।

आगामी १० वर्षभित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ । पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वयमा जोड दिइएको छ । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । कोभिड महामारी र विशवका विभिन्न देशमा भएका द्वन्द्व र आर्थिक मन्दीका कारण शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्याण गरेको हो ।

कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने लक्ष्य राखेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पु¥याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ ।

यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटन सम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ । कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकामा यो वर्ष उत्साहजनक रुपमा वृद्धि भएको छ ।

यस वर्ष १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकामा गत वर्षदेखि सुधार भएको छ । यही गतिमा बढ्दै जाने हो भने आगामी वर्ष पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने आशा गर्न सकिन्छ ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ । चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पुर्याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा पनि छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यस वर्ष तीन लाख १३ हजार ९०१ पर्यटक नेपाल आएका छन् । त्यसैगरी, अमेरिकाबाट ९९ हजार ३२६ र चीनबाट ५९ हजार ५८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य (युके)बाट ५२ हजार ४९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार १४९, बङ्गलादेशबाट ३५ हजार ४९२, जर्मनीबाट २६ हजार ७९३, थाइल्यान्डबाट २५ हजार २७०, दक्षिण कोरियाबाट २३ हजार ४३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ ।

स्रोत : रासस
प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १०:५८

लोकप्रिय