रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनले विनासकारी भूकम्पमा छोरा–बुहारीसहित दुई नाति गुमाए । घरमा आइतबार पुग्दा पत्नीसँगै भत्केको घरको बाहिर उनी टोलाइरहेका थिए । माटो र ढुंगाले बनेको उनको दुईतले घर पूरै भत्किएको थियो ।
भुइँ तलाको एउटा कोठा मात्रै बचेको थियो । ‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने, ‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्यो ।’
भूकम्पले उनको बास घरबाट सडकमा पुर्याएको छ । घर छेउमै कालोपत्रे गरिएको मध्यपहाडी राजमार्ग छ । त्यहीं सडकमा उनले दुई रात बिताइसके । अझै कति दिन र रात भोकै र नांगै सडकमा बस्नुपर्ने हो, उनलाई थाहा छैन । घरमा भित्राएको खाद्यान्न पनि पुरिएको छ ।
घरको भग्नावशेष पन्छाउने तागत पनि उनीसँग छैन । जाजरकोटको बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले उनीजस्तै धेरैलाई बेसहारा र घायल बनाएको छ । सरकारले घाइतेको उद्धार चाँडै गरे पनि राहत ल्याउन भने ढिला गरेको उनले बताए ।
‘अहिलेसम्म कसैले पनि एकसरो पाल, खाद्यान्न र भाँडाकुँडा दिनुभएको छैन,’ आइतबार छोरा–बुहारी र दुई नातिको दाहसंस्कार गरेका प्रेमले भने, ‘चिसोमा भोकभोकै र नांगै कति दिन सडकमा सुत्नुपर्ने हो, थाहा छैन ।’
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गाउँका कुनै पनि घर बस्न लायक नभएको बताइन् । ‘वडा नं. १ मा ४६३ घरधुरी छन । जसमा धेरैजसो भत्किएका छन् भने बाँकी चिरा परेका छन्,’ उनले भनिन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन । राहत पनि आइपुगेको छैन ।’ सानीभेरी गाउँपालिकामा ५२ सय घरधुरी छन् । जसमध्ये केही घर मात्र बस्न योग्य छन् ।
धेरैको बास सडक र खेतवारीमा छ । ‘सरकारले चाँडोभन्दा चाँडो पाल, खाद्यान्न र भाँडाकुँडा पाए पीडितलाई केही राहत हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा खेतबारी र सडकको बासले अर्को समस्या निम्त्याउने खतरा छ ।’ उनले पालिकाले मात्र पीडितलाई आवश्यक राहत सामग्री पुर्याउन नसक्ने बताइन् । उनले भनिन्, ‘सबैलाई राहत दिनुपर्ने भएकाले पालिका एक्लैले सक्ने अवस्था छैन ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पश्चिम