२०८३ कात्तिक १५ , शनिबार 31, October 2026, Saturday

व्यावसायीक फूलखेतीमा बाँकेका किसानको आकर्षण

भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्ती मगरले बताइन ।

नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिव एक दशक भयो । उनले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ । जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या वर्सेनि बढ्दै गएको छ ।

मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उनले बताइन् । ‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो,’ बिन्दुले भनिन्, ‘यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।’

सयपत्री अन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन् । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ । नेपालगन्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन् ।

फरक–फरक पेशा तथा व्यवसायमा आबद्ध उनीहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ । तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताए । ‘नेपालगन्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ,’ शाहले भने ।

फूल तयार भइसकेको र ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका उनले बताए । स्थानीयस्तर मै फूल उत्पादन गरी बजारमा बिक्री गर्ने प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन् । निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार