२०८३ कात्तिक १५ , शनिबार 31, October 2026, Saturday

‘अर्नब’ चक्रवातको प्रभाव, तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा सुधार

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि सबै प्रदेशमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर बादल लाग्नेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । महाशाखाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान र सडक किनारमा पहिरो खस्न सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को प्रभाव भोलि अपराह्नदेखि क्रमश: कमजोर हुँदै जाने र त्यससँगै मौसममा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार