गाउँबस्ती र घरआँगनमा दसैँको रौनक सकिएर तिहारको चहलपहल सुरु भइसकेको छ । परदेशिएका आफन्त घर फर्किँदै छन् भने बजारमा किनमेलको चटारो बढेको छ । घरघरमा सरसफाइ, देउसीभैलो र दाजुभाइ–दिदीबहिनीबीचको भेटघाटको चटारो छ । तर, बाँकेको कोहलपुरस्थित होल्डिङ सेन्टरमा छ महिनादेखि बस्दै आएका सुकुम्बासी परिवारका लागि भने चाडपर्वको खुसीभन्दा घरबासको चिन्ताले सताएको छ ।
न बस्ने गतिलो ठाउँ छ, न त परिवारसँग रमाएर चाडपर्व मनाउने वातावरण । उनीहरूका लागि यस वर्षको दसैँ अभाव र पीडामै बित्यो, अब तिहार पनि टहरामै बित्ने निश्चितप्राय: छ । आफन्तसँग बसेर दसैँ मनाउने रहर पूरा नभए पनि तिहारमा परिवारसँग रमाउने र नयाँ आशा जगाउने उनीहरूको चाहना थियो । तर, ओत लाग्ने आफ्नै छानो नहुँदा त्यो चाहना पनि अन्योलमा परेको छ ।
बाँकेको कोहलपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारका लागि चाडपर्व खुसीभन्दा बढी पीडा र अनिश्चितताको पर्याय बनेको छ । कोहलपुर नगर विकास समितिको २८ बिघा जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका उनीहरू गत वैशाखमा बस्ती हटाइएपछि विस्थापित भएका हुन् । वर्षौँदेखि बस्दै आएको घर छाड्नुपरेपछि उनीहरू अहिले अस्थायी आश्रयस्थलमा जीवन गुजारिरहेका छन् ।
कोहलपुर नगरपालिकाका अनुसार लगत सङ्कलनमा समेटिएकामध्ये हाल १०२ विस्थापित परिवार कोहलपुर बसपार्क, नगर विकास समिति र दीपशिखा आधारभूत विद्यालयमा बनाइएका होल्डिङ सेन्टरमा बसोबास गरिरहेका छन् । एउटै कोठामा धेरै जना कोचिएर बस्नुपर्ने बाध्यता छ । पर्याप्त ठाउँको अभावमा दैनिक घरायसी काम गर्न, बालबालिकालाई पढाउन र वृद्धवृद्धालाई आराम गर्नसमेत कठिनाइ भइरहेको छ ।
चाडपर्वमा घर लिपपोत गर्ने, नयाँ लुगा लगाउने र परिवारसँग बसेर मीठोमसिनो खाने रहर उनीहरूका लागि सपना जस्तै बनेको छ । होल्डिङ सेन्टरमा बस्दै आएकी कल्पना कामी र बिर्मा विकका लागि दसैँले खुसीभन्दा बढी अभावको अनुभूति गरायो । आफ्नै घरमा बसेर परिवार र आफन्तसँग चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि अस्थायी आश्रयमा बस्नुपर्दा उनीहरूको मन अमिलो बनेको छ, सुरक्षित बसोबासको व्यवस्था नहुँदा भविष्यप्रतिको चिन्ता थप बढेको छ ।
७० वर्षीया मिना दमाईलाई पनि जीवनको उत्तरार्धमा यसरी घरबारविहीन हुनुपर्ला भन्ने लागेको थिएन । बुढेसकालमा आफ्नै घरमा आरामसँग बस्ने चाहना भए पनि अहिले साँघुरो ठाउँमा दिन काट्नु परेको उनको गुनासो छ । ‘ठाउँ अभावले दैनिक जीवनयापन मात्र होइन, धार्मिक तथा पारिवारिक संस्कारसमेत गर्न पाइएको छैन,’ उनले भनिन् । अन्य घरमा दसैँतिहारको खुसी छाइरहँदा यहाँका बालबालिका, महिला र ज्येष्ठ नागरिक भने आफ्नो भविष्य कहाँ र कसरी बित्ने हो भन्ने चिन्तामा छन् ।
त्यसैले विस्थापित परिवारले तत्कालका लागि सुरक्षित आश्रय र दीर्घकालीन रूपमा स्थायी बसोबासको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका छन् । यता, विस्थापित परिवारको समस्या समाधानका लागि वास्तविक भूमिहीन दलित तथा सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । विभिन्न जिल्ला तथा स्थानीय तहबाट विवरण माग गरिएको र प्राप्त विवरणका आधारमा बसोबास व्यवस्थापनका लागि ऐलानी वा सरकारी जग्गाको खोजी भइरहेको नगरपालिकाको भनाइ छ ।
नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विस्थापित परिवारको विवरण सङ्कलन तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । यद्यपि, आफूहरूको स्थायी बसोबास कहिलेसम्म हुन्छ भन्नेमा पीडितहरू अझै स्पष्ट र ठोस जवाफको प्रतीक्षामा छन् । घर केवल घामपानीबाट जोगिने छानो मात्र होइन, परिवारको सुरक्षा, आत्मसम्मान र सामाजिक जीवनको आधार पनि हो । घर नहुँदा चाडपर्वको खुसी मात्र खोसिँदैन, बालबालिकाको भविष्य र वृद्धवृद्धाको जीवनसमेत जोखिममा पर्छ । अरूका घरमा दीपावलीका दियो बलिरहँदा होल्डिङ सेन्टरका विस्थापित भने आफ्नै घरको आँगन कहिले उज्यालो होला भन्ने पर्खाइमा छन् ।
