‘अर्नव’ चक्रपातको प्रभावले मौसम बदली भई वर्षा हुने सम्भावना बढेपछि बाँकेका किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । आकाशमा कालो बादल मडारिन थालेसँगै वर्षाले पाकेको धानबालीमा क्षति पुर्याउने चिन्ताले किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् ।
धान काटेर खेतमै सुकाउन राखेका किसानलाई वर्षाले भिजाउने चिन्ता छ भने काट्न बाँकी रहेकालाई हावाहुरी र पानीले धान ढाल्ने डर छ । त्यसैले सम्भावित वर्षाअघि नै धानबाली सुरक्षित रूपमा भित्र्याउन किसानहरू हतारिएका छन् । पाकेर स्याहार्ने बेला अर्णव चक्रपातको प्रभावले मौसम बदली भएपछि जिल्लाका अधिकांश किसान धान भित्र्याउन सक्रिय भएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानको बाला लामो समयसम्म भिजेमा गुणस्तर बिग्रने जोखिम हुने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको बताइन् । कृषि ज्ञान केन्द्रले केहीदिन धान नकाट्न र काटिसकेको भए छिटो भित्र्याउन किसानलाई अनुरोध गरेको पनि शर्माले जानकारी दिइन् ।
किसानहरूका अनुसार चाडपर्वको समय भएकाले खेताला तथा मजदुर पाउन मुस्किल छ । त्यसमाथि थ्रेसर, ट्याक्टर लगायतका कृषि उपकरणको सहज उपलब्धता नहुँदा धान भित्र्याउने काम थप चुनौतीपूर्ण बनेको छ । हतारमा काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न समेत समस्या भइरहेको नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताए ।
डुडुवा गाउँपालिका–कम्दीका किसान रमेश मौर्यले विगतमा पनि असोज र कात्तिकमा बेमौसमी बाढी तथा वर्षाका कारण तयारी अवस्थामा रहेको धानबालीमा क्षति पुगेको स्मरण गरे । उनले भने, ‘विगतमा पनि बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नुपरेको थियो । अहिले चक्रपातले समस्या गर्ने सुनेपछि सजग भएर बेलैमा धान भित्र्याउन लागेका छौँ ।’
खजुराको डी गाउँका किसान वीरेन्द्र केसीका अनुसार गत असारमा रोपिएको धान अहिले पाकेर खेतमा पहेँलपुर भएको छ । वर्षा भएमा पाकेको धानमा ठूलो क्षति पुग्ने भएकाले किसानले अन्य काम छाडेर धान भित्र्याउन जोड दिए । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाको कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान खेती हुँदै आएको छ । यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।
