२०८३ कात्तिक १३ , बिहीबार 29, October 2026, Thursday

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

जल तथा मौसम विज्ञान विभागले वर्षा र प्रतिकूल मौसमको चेतावनी दिएपछि बाँके र दाङका किसानहरू पाकेको धानबाली सकुशल भित्र्याउन रातदिन जुटेका छन् । काटिसकेको धान खेतमै भिग्ने र काट्न बाँकी धानबालीलाई हावाहुरी तथा बाढीले ढाल्ने चिन्ताले गर्दा किसानहरू चाडपर्व नै बिर्सिएर धान भित्र्याउन व्यस्त बनेका हुन् ।

विगतका वर्षमा पनि असोज–कात्तिकको बेमौसमी वर्षाले तयार भएको बाली नष्ट गरेको सम्झँदै बाँके र दाङका किसानहरूले थप खेताला खोजेर तथा सामूहिक रूपमा बाली घर भित्र्याइरहेका छन् । चाडबाडको समय भएकाले खेताला र थ्रेसर तथा ट्याक्टरजस्ता आधुनिक उपकरणको अभाव भए पनि किसानहरूले छिटो–छिटो धान काट्न र सुकाउन प्राथमिकता दिएका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका ३३ हजार ५०३ हेक्टरमा रोपाइँ भएको धान पाकेर तयार भइसकेकाले वर्षाको त्रासमा किसानहरू खेतमै खटिएका छन् । उता दाङका तुलसीपुर लगायत विभिन्न क्षेत्रका किसानहरूले पनि गत वर्ष पानीले धान कुहिएको तीतो अनुभव दोहोरिन नदिन इष्टमित्र र छिमेकीको सहयोग लिएर धमाधम धान भित्र्याएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार