२०८३ कात्तिक ११ , मंगलबार 27, October 2026, Tuesday

मौसम पूर्वानुमानमा देखियो ठूलो परिवर्तन, ‘अर्नब’ अब के हुन्छ ?

पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस)को पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ । पछिल्लो पूर्वानुमानले अर्को चक्रवात विकास हुने संकेत देखाएको छ । तर, चक्रवात ‘अर्नब’बाट नेपालमा पर्ने जोखिम निकै घटाएको मौसमविद् विनोद पोखरेल बताउँछन् । यद्यपि, अन्य मौसम मोडेलहरूले भने तत्काल अर्को चक्रवात बन्ने स्पष्ट संकेत दिएका छैनन् । यसले अब मुख्यत: दुईवटा सम्भावना हेर्नुपर्ने भएको मौसमविद् पोखरेल बताउँछन् ।

‘अर्को चक्रवात विकास भयो भने त्यसले अर्नबलाई कमजोर बनाउन सक्छ,’ उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘यस्तो अवस्थामा नेपालमा भारी वर्षाको सम्भावना घट्नेछ, यद्यपि सोमबारसम्म हल्का वर्षा हुन सक्छ ।’ अर्को चक्रवात बनेन वा ढिलो गरी विकास भयो भने बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना कायमै रहने उनको भनाइ छ । अहिले अधिकांश अन्य मोडेलहरूले यही अवस्था देखाइरहेका उनले प्रस्ट पारेका छन् ।

‘त्यसैले यो मौसमी प्रणालीको विकास र प्रभावबारे पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण देखिएको छ,’ पोखरेल भन्छन् । चक्रवात ‘अर्नब’ आज अपराह्न वा साँझ भारतको भिसाकापटनम आसपासको तटीय क्षेत्रमा पुग्नेछ । नेपालमा यसको प्रभाव भोलिदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन् । यस प्रणालीको प्रभावले गण्डकीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायमै छ ।

एउटा मोडेल (जीएफएस)ले अन्य मोडेलभन्दा फरक पूर्वानुमान देखाएकाले धेरै वर्षा हुने हो वा कम मात्रामा र लामो समयसम्म वर्षा जारी रहने हो कि होइन भन्नेमा केही अनिश्चितता बढेको उनले बताएक छन् । ‘यद्यपि, सातवटा मोडेलको समग्र पूर्वानुमान हेर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिन्छ,’ उनी लेख्छन्, ‘त्यसैले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुहोला । किसानहरूले पनि काटेको वा काट्न तयार धानबाली सुरक्षित राख्न आवश्यक तयारी गर्नुहोला ।’

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार