आज शारदीय नवरात्रको नवौँ दिन हो । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ । यस दिन शास्त्रीय विधि–विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामथ्र्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
‘सिद्धि’ भन्नाले आध्यात्मिक शक्ति र ‘दात्री’ भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ । अत: देवी सिद्धिदात्री ती अलौकिक शक्ति हुन्, जसले आफ्ना भक्तहरूलाई सबै प्रकारका सिद्धिहरू प्रदान हुन्छन् । माता सिद्धिदात्रीले दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख धारण गरेकी छन् ।
देवी सिद्धिदात्रीको वाहन सिंह हो भने उनी कमलको फूलमा विराजमान छन् । नवरात्रको नवौँ दिनमा देवीको पूजा तथा आराधना गर्नाले सम्पूर्ण सिद्धि प्राप्त हुन्छ । उनी नवदुर्गामध्येकी अन्तिम देवी हुन् । उनको ध्यान गर्नाले भक्तहरूका सबै प्रकारका ब्रह्माण्डीय र सांसारिक इच्छाहरू पूरा हुन्छन् ।
भगवान् शिवले पनि देवी सिद्धिदात्रीकै अनुग्रहबाट सम्पूर्ण सिद्धि र उपलब्धिहरू प्राप्त गरेको पौराणिक मान्यता छ । यिनै देवीको कृपाले भगवान् शिवको आधा शरीर देवी (नारी)को भएको थियो । यसै कारणले गर्दा शिवजी ‘अर्धनारीश्वर’ नामले प्रख्यात भए । भक्तहरूले माताको चरणमा पूर्ण निष्ठाका साथ उपासना गर्नुपर्छ र भक्तिमा स्थिर रहनुपर्छ ।
यस देवीको स्मरण, ध्यान र आराधनाले हामीलाई सांसारिक मोह र भवसागरको जोखिमलाई महसुस गराउँदै मोक्ष (अमृत पद) तर्फ डोहोर्याउँछ । देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्दछन् ।
पूजाविधि
बिहान स्नान आदि नित्य कर्म सकेर पूजा सामग्री तयार पारी दियो, कलश र गणेशको पूजा गरिसकेपछि देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्नुपर्दछ । ‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नम:’ देवीको यो बीज मन्त्र कम्तीमा १०८ पटक उच्चारण गर्नुपर्दछ ।
यसका साथै भगवान् शङ्कर र ब्रह्माजीको समेत पूजा गरिसकेपछि अन्त्यमा प्रसाद चढाउँदै आरती गर्नुपर्दछ । पूजा सम्पन्न भएपछि प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्नुपर्दछ । यसरी सिद्धिदात्री देवीको ध्यान र स्तोत्र पाठ गर्नाले सम्पूर्ण मानव जातिले सिद्धि प्राप्त गर्दछन् ।
आफ्नो श्रद्धा र भक्तिले माता सिद्धिदात्रीको पूजा तथा आराधना गरेमा पूर्वजन्मको पापबाट मुक्ति मिल्ने, घरपरिवारमा सुख–शान्ति छाउने, दु:ख–कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेको छ । माता सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्पहरू अति प्रिय छन् भने नैवेद्यमा नरिवल तथा गुलिया परिकारहरू अधिक मन पर्छ ।
ध्यान
वन्दे वांछित मनोरथार्थ चन्द्रार्धकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजां सिद्धिदात्रीं यशस्विनीम् ।।
स्वर्णवर्णां निर्वाणचक्रस्थितां नवम् दुर्गां त्रिनेत्राम् ।
शङ्ख, चक्र, गदा, पद्म धरां सिद्धिदात्रीं भजेम् ।।
पटाम्बर परिधानां मृदुहास्यां नानालंकार भूषिताम् ।
मञ्जीर, हार, केयूर, किङ्किणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदनां पल्लवाधरां कान्तं कपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां क्षीणकटिं निम्ननाभिं नितम्बिनीम् ।।
स्तोत्र पाठ
कञ्चनाभां शङ्खचक्रगदापद्मधरां मुकुटोज्ज्वलाम् ।
स्मेरमुखीं शिवपत्नीं सिद्धिदात्रीं नमोऽस्तु ते ।।
पटाम्बर परिधानां नानालंकार भूषिताम् ।
नलिनस्थितां नलिनाक्षीं सिद्धिदात्रीं नमोऽस्तु ते ।।
परमानन्दमयीं देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तु ते ।।
विश्वकत्र्री, विश्वभत्र्री, विश्वहत्र्री, विश्वप्रीता ।
विश्वार्चिता, विश्वातीता सिद्धिदात्री नमोऽस्तु ते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तु ते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धिदायिनी सिद्धिदात्री नमोऽस्तु ते ।।

