बडादसैँ सुरु भएसँगै देश तथा विदेशबाट घर फर्कनेहरूको यतिबेला घुइँचो लागेको छ । हवाई र स्थलमार्ग दुवैतिर यात्रुहरूलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याइनभ्याई छ । पैसा भए पनि सहज यात्रा गर्न नपाएको र यात्रा निकै कष्टकर तथा महँगो भए पनि दसैँमा परिवार, आफन्त र इष्टमित्रसँग भेट हुने आशाले यात्रुहरूलाई ती सबै दु:ख सहनुको विकल्प छैन ।
कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँसम्म पुग्नेहरूको यात्रा अझ बढी जटिल र पट्यारलाग्दो बनेको छ । तथापि, घर पुगेर दसैँ मनाउने व्यग्र चाहनाले प्रतिकूल अवस्थालाई पनि उनीहरूले अनुकूल बनाउँदै लगेका छन् । खाडी मुलुक तथा भारतका विभिन्न स्थानबाट दसैँ मनाउन घर फर्कनेहरू परिवारसँगको पुनर्मिलनको आशामा बाटोको हण्डर र खर्च भुलेर यात्रा गरिरहेका छन् ।
वर्षौँसम्म भेट्न नपाएका परिवारका सदस्य, आफन्त तथा सङ्गीसङ्गीनीहरूसँग भेट हुने अवसरका रूपमा बडादसैँ र तिहार सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने सङ्गम बनेको छ । जसले गर्दा सहर छोडेर गाउँ हानिनेहरू खुसी मुद्रामा देखिन्छन् । भारतको बैङ्गलोरबाट घर फर्केका तिला गाउँपालिका–४ जुम्लाका नमराज शाहीले सहरको कोलाहलबाट गाउँ फर्किँदा शान्तिभूमि पुगेको अनुभूति भएको बताएका छन् ।
उनले भने, ‘गाउँमा घरहरू छुट्टाछुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरू अति नजिक छन् । विडम्बना, सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ ।’ शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मासलगायतका अन्नबाली भित्र्याउने, न्वागी खाने, छिमेकीबीच उत्पादन आदानप्रदान गर्ने र लिङ्गे पिङ खेल्दै दु:ख–सुख साट्ने काम भइरहेको छ ।
यात्राका हिसाबले कर्णाली राजमार्ग तथा भेरी करिडोर भएर जाने यात्रुहरूलाई निकै सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । दुई दिनको गाडी र पैदल यात्रापछि घर पुगेका हुम्ला अदानचुलीका मनरुप परियारले सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको बताए । उनले भने, ‘मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।’
नागरिकहरू दसैँ–तिहार मनाउन गाउँ फर्किएपछि सहरमा चहलपहल घट्दै गएको छ भने बसपार्क र विमानस्थलमा घर जानेहरूकै भीड देखिन्छ । सर्लाहीबाट जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले रोजगारीका लागि सहर पस्नु बाध्यता भए पनि सहरभन्दा गाउँ नै सम्पन्न र शान्त रहेको बताइन् । उनले भनिन्, ‘सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको आभास हुन्छ । यतिबेला सहरभन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादसैँको बहारले उमङ्गित बनेको छ ।’

