२०८३ असोज ३० , शुक्रबार 16, October 2026, Friday

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । शुक्रबार कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी, काठमाडौंमा पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् ।

उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ ।

उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षक राखी कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको निवेदनमा उल्लेख छ ।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् । उक्त उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसटहरू र नागरिकताको प्रतिलिपि समेत प्रमाणका रूपमा ब्युरोमा पेस गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार