दशैं नजिकिँदै गर्दा निराजन पौडेलको मन पटक–पटक झुक्किन्छ । बजारमा दशैंको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, ‘ए, दशैं आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ ।’ तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ । दशैंको झल्कोसँगै उनको मनमा भोटेकोशी बाढीको कहालीलाग्दो कल्पना आउँछ र त्यसले आफ्नो गाउँबस्तीको विभत्स दृश्य आँखै अगाडि ल्याइदिन्छ ।
जुन घरमा दशैंको खुसी छाउँथ्यो, परिवारसँगै बसेर विगतका दशैं मनाइन्थ्यो, आज त्यो घर नै छैन । जुन घरको आँगनमा परिवार र आफन्तसँग आत्मीयता र अपनत्व साटासाट हुन्थ्यो, आज त्यो आँगन बाढीले बगर बनाइदिएको छ । बाढीले घरसँगै गाउँ फर्कने र रमाउने निराजनको सपना पनि बगाइदिएको छ । त्यसैले, एकैछिनको मनको उमङ्गले उनलाई पटक–पटक झस्काउँछ । दशैं आयो, कैयौं परदेशी घर फर्कन पाउँदैनन् ।
कसैलाई रोजगारीले रोक्छ, कसैलाई गरिबीले त कसैलाई बाध्यताले छेक्छ । तर, निराजनको पीडा यी सबैभन्दा फरक छ । उनको फर्कने घर नै छैन । अरूका लागि घर पुग्ने हतारो भइरहेको दशैं उनका लागि भने आँशु बनेर आएको छ । विडम्बना कस्तो भने, दशैंको यो छेकोमा निराजनको मन आफूले गुमाएको घरको सम्झनामा डुबुल्की मारिरहेको छ । दशैंमा घर पुगेका कैयौंले यतिखेर आफ्ना घरका ढोका खोलिरहँदा निराजनको मनले भने सम्झनाको ढोका खोलिरहेको छ र त्यो खाली घरमा विगतका खुसीहरू खोजिरहेको छ ।
दशैंमा गाउँ फर्कने बाटो त बनेको छ, तर टेक्ने आँगन छैन । सम्झनामा घर छ, तर आँखाअगाडि भने बगर । अनि छातीभित्र कहिल्यै निको नहुने घाउ र नपुरिने रिक्तता । हो, यतिखेर सहरतिर दशैंको माहोल बढ्दै जाँदा निराजनलाई भने भदौ १० गतेको कहालीलाग्दो बज्रपातले पिरोलिरहेको छ । त्यो दिन उनलाई न सम्झन मन छ, न बिर्सन नै सक्छन् । नुवाकोटको विदुर नगरपालिकास्थित सोलेका निराजन पौडेलले भदौ १० गते सर्वस्व गुमाउन पुगे । बुबा वासुदेव पौडेलसहित आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीमा सम्पर्कविहीन भए ।
अहिले उनीसँग न ती प्रियजन छन्, न बाबुआमाले सिन्कासिन्का जोडेर परेवाले गुँड लगाएझैं बनाएको सम्पत्ति नै बाँकी रह्यो । आफ्नो घरखेत कहाँनिर थियो भन्ने संकेत समेत छैन । ‘बाबा, दशैं आयो नि ! हामी गाउँ कहिले जाने ? आमा–बुबा (हजुरबा–हजुरआमा)ले ‘पिङ खेल्न आऊ है झट्टै’ भनेर किन फोन नगर्नु भएको होला ? आजभोलि भिडियो कल किन नगर्नु भएको ? दशैंमा घर जाँदा म त रिसाउने हो ।’ यसरी पाँच वर्षीय छोरा लियान पौडेलले बारम्बार राखिरहेको जिज्ञासाले निराजन आँशु नै थाम्न सक्दैनन् ।
छोराले थाहा नपाओस् भनेर कहिले बाथरुममा, कहिले अर्को कोठामा गएर रुन्छन् र पानीले आँखा धुन्छन् । ‘बाबा, दशैंमा सोले घर गएर पिङ खेल्नुपर्छ भनेर छोराले सोध्दा म त आफूलाई सम्हाल्नै सकिरहेको हुन्नँ,’ निराजनले भने । अबोध छोरा लियानलाई के थाहा ? भोटेकोशीको बाढीले सोलेको घर बगाएको छ, हजुरबा र हजुरआमालाई पनि बाढीले बेपत्ता बनाएको छ भन्ने कुरा । लियानलाई दशैं आएपछि गाउँको घर पुगिन्छ, हजुरबुबाले हालिदिएको पिङ खेलिन्छ, हजुरआमासँग भेट हुन्छ र पोहोर सालको जस्तै रमाइलो हुन्छ भन्ने लागिरहँदो हो ।
छोराको चित्त कसरी बुझाउने भनेर निराजन अलमलमा छन् । ‘छोरालाई केही थाहा छैन । अझै पनि दशैंमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ । म अर्को कोठामा हुँदासमेत उसको आमाको फोनबाट घर अनि अघिल्लो दशैंमा नै हालिदिएको पिङ देखाउन भन्छ । ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो गर्छ,’ निराजनले भने । गाउँघरको दशैंको रौनक निराजनका लागि अब सम्झनामा मात्रै छ ।
आमाले कमेरो र रातोमाटो लगाएर घर लिपपोत गर्न थालेपछि दशैं घरआँगनीभित्र भित्रिन तम्तयार भएको भान हुन्थ्यो । थाक्रोमा पाकेर पट्ट फुट्न लागेका काँक्रा हुन्थे । दशैंका लागि भनेर आमाकै हातले बनाएका अचार हुन्थे । दशैंमा काट्नु पर्छ भनेर वरपर घाँस नकाटी राखिन्थ्यो । घरवरपरका झाडी सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो । निराजन दशैं बिदा भएपछि दशैंका लागि दाउरा खोज्न गएर आमालाई सघाउँथे । परदेशीहरू गाउँ फर्कन्थे ।
‘गाउँ नै रमाइलो, दशैं रमाइलो,
दशैं आउँदा मनमा पीर भए नि यसै रमाइलो ।’
शिव हमालको शब्द तथा संगीत र विमल परियार तथा सविता परियारको स्वरमा सजिएको यो दशैंको गीत अघिल्लो दशैंसम्म घन्कन थालेपछि निराजनको मनमा पनि उत्सवको माहोल आउँथ्यो । दशैंमा झनै रौनक देखिने र रमाइलो लाग्ने त्यो गाउँ नै अब उजाड बगर बनिसकेको छ । पढाइ र रोजगारीको सिलसिलामा निराजन काठमाडौं आएपछि कहिले छुट्टी होला र गाउँ जाउँला जस्तो हुन्थ्यो । यसपटक बुबाले घरमा प्लास्टर गरेका थिए । त्यही प्लास्टर गरिएको घरमा बसेर टीका र जमरा लगाउँला, आफन्त र साथीभाइसँग भेटौंला भन्ने सोच बनाएका थिए निराजनले ।
तर, ती आफन्त, काका–काकी अनि साथीभाइलाई बाढीको भेलले बगायो । अब उनीहरूसँग कहिल्यै भेट्न नपाइने भयो । ‘बुबाआमाले हरेक वर्ष फोन गरेर सोध्नुहुन्थ्यो, ‘दशैंमा कहिले आउँछौं ? कति दिन बस्छौ ? कति मासु खाने ?’ निराजनले भने । सधैंको दशैंमा जस्तै यस पटक पनि आमाले यसो भन्दै फोन गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । ‘अहिले हामीलाई दशैं आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ । पहिला दशैं आउँदा छुट्टै खुसी हुन्थ्यो । अहिले त चाडपर्व आएको अनुभूति समेत हुँदैन,’ निराजनले भने ।
भूकम्पले विस्थापित, बाढीले सर्वस्व
विसं २०७२ को भूकम्पले निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो । भूकम्पले गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य तल बेंसीतिर झरेका थिए । त्यहाँ जग्गा किनेर घर बनाइएको थियो । खेतीपातीबाट हुने आम्दानी पनि परिवारको जीवनयापनको आधार बनेको थियो । भूकम्पपछि बनेको घरमा परिवारले विस्तारै जीवन व्यवस्थित गर्दै लगेको थियो । घर निर्माण भएको एक दशकभन्दा बढी समयपछि बल्ल त्यसलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो । बुबाले दुई महिनाअघि मात्रै घरमा प्लास्टर गर्न लगाएका थिए ।
दशैंमा परिवारका सबै सदस्य आउँदा घर राम्रो देखियोस् भन्ने उनको चाहना थियो । घरको स्वरूप फेरिँदै थियो । परिवारका सपना पनि साकार हुँदै थिए । तर, भदौ १० गते आएको बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो । बाढी आउनुभन्दा केही समयअघि निराजनले परिवारलाई गाउँमा नबस्न आग्रह गरेका थिए । अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि जोखिम बढेको महसुस गर्दै उनले बुबा–आमालाई काठमाडौं आउन भनेका थिए । नातिको हेरचाह गर्नका लागि पनि परिवारलाई काठमाडौं ल्याउने सोच थियो निराजनको ।
तर, बुबा विद्यालयमा अध्यापन गर्थे । अवकाश हुन अझै तीन वर्ष बाँकी भएकाले बुबाले अब दशैंको पेस्की लिएर सोचौंला भनेको निराजनले सुनाए । ‘मैले बुबा–आमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौं आउनुस् भनिरहेको थिएँ । तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौं,’ निराजनले सम्झिए । यदि बुबाआमा काठमाडौं आएको भए सम्पत्ति गुमाए पनि उनीहरूलाई त गुमाउनु पर्दैनथ्यो भन्ने लाग्छ उनलाई । पेसाले पत्रकार निराजन भदौ १० गते कार्यालयमा थिए ।
रातोपाटीमा कार्यरत उनलाई बाढी आएको खबर सुरुमा सामान्य लाग्यो । यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यसपटक पनि त्यस्तै होला भन्ने लागेको थियो उनलाई । तर, केही समयपछि गाउँमा बाढी पसिसकेको खबर आयो । काठमाडौंमा बस्ने अर्जुन पौडेलले फोन गरेर बाढी सोलेसम्म आइपुगेको बताए । प्रत्यक्ष दृश्य र समाचारबाट बाढीको भयावहता थाहा हुन थालेपछि निराजनले परिवारका सदस्यलाई फोन गर्न थाले । पहिले आमालाई फोन गरे । सम्पर्क हुन सकेन । बुबालाई फोन गरे, लागेन ।
काका र बहिनीलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन । फोन नलागे पनि निराजनको मनमा परिवारका सदस्य सुरक्षित ठाउँमा पुगेका होलान् भन्ने विश्वास थियो । यसअघि बाढी आउँदा गाउँका मानिस माथितिर सुरक्षित स्थानमा गएर बसेका थिए । यसपटक पनि सबै जना जङ्गलतिर वा माथिल्लो गाउँमा पुगेका होलान् भन्ने उनलाई लाग्यो । ‘मलाई दिउँसो २ देखि ३ बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो । फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ,’ उनले भने ।
पछि गाउँका मानिससँग सम्पर्क हुन थालेपछि अवस्था झन् भयावह भएको थाहा भयो । कतिपयले स्पष्ट रूपमा केही भन्न सकिरहेका थिएनन् । गाउँबाट अब सम्हालिनु पर्छ भनेर फोन आउँदा भने उनको मनमा चिसो पस्न थाल्यो । तर, पनि परिवारका सदस्य कतै जङ्गलमा बसिरहेका होलान्, फर्किहाल्छन् होला भन्ने लागिरह्यो । दिन बित्दै गए । परिवारका सदस्यको अवस्था पत्ता लागेन । शव पनि फेला परेनन् । कुशको शव बनाएर काजकिरिया गरियो ।
‘अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन । कतै जङ्गल या ओडारमा बसिरहनुभएको छ कि भन्ने लाग्छ । कहिलेकाहीँ फोन हेर्न मन लाग्छ । अब दशैंमा घर आउनु भनेर फोन गर्नुहुन्छ कि जस्तो लाग्छ,’ उनले भने । बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ पढ्दै थिइन् र बिदामा घर आएकी थिइन् । बाढी आएको दिन उनी काकासँग काठमाडौं आउने तयारीमा थिइन् । १५ किलोमिटर टाढा रहेको विद्यालयमा पढाउने भएकाले बुबा स्कुल नजिकै बस्थे । त्यस दिन भने भतिजीलाई बिदा गर्न घर आएका रहेछन् । त्यही दिन आएको बाढीले सबैलाई बगाएर लग्यो ।
निराजनका गाउँका ७८ जना अझै बेपत्ता छन् । अब विपत्तिले दिएको यो मानसिक पीडा कसरी कम गरेर अगाडि बढ्ने भन्ने चिन्ता उनलाई छ । उनका अनुसार यस्तो विपत्तिबाट प्रभावित मानिसलाई मानसिक रूपमा सम्हालिन समय र राज्यको सहयोग दुवै आवश्यक छ । ‘हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ । घर कहाँ बनाउने ? कसरी बस्ने ? कसरी जीवन चलाउने भन्ने आधार चाहिएको छ । कतिपय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ,’ उनले सुझाव दिए ।

