पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए ।
अहिले पोखरामा तीन हजार १०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि दुई हजार मिटर दृश्यतामा उडान हुने उनको भनाइ छ । ‘यो प्रणाको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो, यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ,’ उनले भने ।
आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताए । उक्त प्रणाली सञ्चालनका लागि जहाजमा पनि सोही अनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ । यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ ।
आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ । यसबाट हवाई उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान सञ्चालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।

