२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

दसैँ मनाउन दुई लाख ६२ हजारले छोडे राजधानी

बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो । उपत्यका छोड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढिरहेको उनले जानकारी दिए ।

उपत्यका छोड्ने यात्रुको संख्या बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको पनि आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा लगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । ती नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन प्रहरीसहित यातायात व्यवसायीले प्रभावकारी जाँचको व्यवस्था गरेको जनाएका छन् । दसैँ, तिहार लगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार