२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

नेपालगन्जमा दौडिँदै मिस नेपाल वर्ल्ड दीपमाला

मिस नेपाल २०२६ दीपमाला ढकाल नेपालगन्जमा दौडिने भएकी छिन् । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन मंसिर १२ गते शनिबार उनी दौडिन लागेकी हुन् । तेक्वान्दोकी ब्ल्याकबेल्ट उनी म्याराथन धाविका समेत हुन् ।

विश्व प्रतिष्ठित स्ट्यान्डर्ड चाटर्ड हङकङ म्याराथनको अनुभव उनीसँग छ । नेपालगन्ज म्याराथनमा कति किलोमिटर दौडिने विषयमा भने उनले चाँडै जानकारी गराउने बताएकी छिन् । नेपालका कुनै पनि म्याराथनमा मिस नेपाल दौडिन लागेको यो सम्भवत: पहिलोपटक हो ।

यद्यपी विद्यार्थी, युवा र समाजलाई प्रेरित गर्न मिस नेपाल हरेक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रित हुने गरेका छन् । स्वस्थ समाज निर्माण गर्ने जागरण अभियानमा नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच मिस नेपाल वर्ल्ड स्वत: नेपालगन्ज म्याराथनको सद्भावना दूत हुने समझदारी छ ।

गत वर्ष पनि मिस नेपाल वल्र्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रुपमा पाँच किलोमिटर दौड पुरा गरेका थिए । यसवर्ष स्वयं मिस नेपाल वल्र्ड दीपमालाले परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन दौडिन तयार भएकी हुन् ।

परोपकारी कार्यका लागि दौडिने विश्वव्यापी प्रचलन रहेको छ । संसारका प्रतिष्ठित म्याराथनहरुमा विभिन्न एनजिओ, कर्पोरेट घरानाहरुले च्यारिटीका लागि दौडिदै ठुलो रकम जुटाउने, धावकलाई सघाउने र सम्बन्धित क्षेत्रमा सेवा प्रदान गर्ने गर्दछन् । मिस नेपाल वल्र्ड दीपमाला भने क्यान्सर पिडितका लागि सहयोग गर्न र जलवायु सचेतनाका लागि दौडिनेछिन् ।

स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुल्ला, २१ किलोमिटर महिला खुल्ला, १० किलोमिटर पुरुष खुल्ला, १० किलोमिटर महिला खुल्ला, ५ किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र छात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ ।

म्याराथन (४२किमी)पुरुष खुल्ला भएपनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौड्न चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइने छ । त्यसैगरी महिला हाफ म्याराथन (२१किमी) महिलाका लागि भएतापनि पुरुष धावकले समय सुधारका लागि दौड्ने चाहेमा विद्युतीय चिप्स प्रधान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

४२ किमीतर्फ विभिन्न उमेर समूहमा वरियताक्रम निकालिने समेत उनले जानकारी दिए । यसमा ४० देखि ५०वर्ष, ५० देखि ६० वर्ष उमेर समूह, ६० देखि ७० वर्ष उमेर समूहलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरेर प्रोत्साहन गरिनेछ ।

एबोट वल्र्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहको धावकलाई विश्वव्यापी वरियतामा समेत समावेश गरिदै आएको छ, यसपटक पनि गरिनेछ । साथै उमेर समूहको वल्र्ड च्याम्पियनसीपमा सहभागितामा सहजीकरण गरिनेछ ।

त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरुलाई मेजर म्याराथन लगायत वर्ल्ड एथ्लेटिक्सको प्लेटिनम, गोल्ड, इलाईट र लेवल रेसहरुमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । अनलाइन दर्ता खुल्ला गरिसकिएको दर्ता संयोजक गगन थापाले जानकारी दिए । नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार