२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

भोटेकोशी बाढी : दशैं आयो, तर फर्किएनन् आमाबुबा

पछिल्लो केही दिनयता गाँउघरमा दशैंको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ।

नेपालगन्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दशैं खुसी होइन आँशु र पिरलो बोकेर आएको छ । आमाबुवा आराम दमाईं र उजना दमाई भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ ।

सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमा–बुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् । ‘आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दशैं आयो, आमाबुवा आउनुभएन”, जेठा छोरा सुभास भक्कानिँदै भन्छन् ।

बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि आफूहरु पूरै सहाराविहीन भएको सुभासले बताए । उनी भन्छन्, ‘दशैं आउँदा आमा–बुवाको झन धेरै यादले सताइरहेको छ ।’ नेपालीको महान् पर्व बडादशैं घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उनका छोराछोरीमा निराश छन् ।

मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगन्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमाईका लागि हन्डर र संघर्ष नयाँ कुरा थिएनन् । तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दु:ख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौंमा राखेर राम्रो शिक्षा दिने ।

नेपालगञ्जमा सोचे जस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो । दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौंमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो ।

‘आमाबुवाले रसुवाबाट दु:ख गरेर पैसा पठाइ दिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौं,’ छोरा सुभासले भने, ‘अहिले बाढीले दुवै जनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौं । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।’ यो शोक केबल एउटा घरमा मात्र सीमित छैन । उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमति रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरुको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरुले काम गर्दै आएको जानकारी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवा बाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार