बडादसैँको रौनकले मुलुकभर खुसी र उल्लास छाइरहेका बेला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका बासिन्दाका लागि भने यस वर्षको दसैँ खल्लो बनेको छ । केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानका कारण स्थानीयवासीका घरमा दसैँको रौनक छाउन सकेको छैन । उनीहरू खुसीभन्दा बढी पीडा, अभाव र अनिश्चिततामा छन् ।
बाढीले घरभित्र भण्डारण गरेर राखिएका खाद्यान्नमा ठुलो क्षति पुर्याएको छ । खेतमा पाक्नै लागेका धानलगायत अन्नबाली बालुवाले पुरिएका छन् भने केरा खेतीमा समेत क्षति पुगेको छ । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीका कारण खेतमा पाक्न लागेको धानबाली र केरा खेतीमा ठुलो क्षति पुगेको छ ।
घरभित्र पानी पस्दा भण्डारण गरेर राखिएका अन्न तथा अन्य सामग्रीसमेत नष्ट भएका छन् । बाढीले घरबास नै जोखिममा पारेपछि करिब ४० परिवार अझै आश्रयस्थलमा बस्न बाध्य रहेको उनले जानकारी दिए । गाउँभरि दसैँको रौनक छैन। अन्यत्र मानिसहरू चाडपर्वको खुसी मनाइरहँदा सुस्ताका बाढीपीडित भने गाँस र बासको चिन्तामा छन् । उनीहरू आश्रयस्थलमा बस्दै आफ्ना क्षतिग्रस्त घर र बस्तीको अवस्था हेरेर दिन बिताउन बाध्य छन् ।
‘गाउँभरि दसैँको कुनै रौनक छैन । बाढीले घरमा राखेका खाद्यान्नमा ठूलो क्षति पुर्यायो, खेतको बाली बालुवाले पुरियो,’ पीडा सुनाउँदै एक स्थानीयवासीले भने, ‘मानिसहरू दसैँ मनाइरहँदा हामी भने नारायणीको कटान र भोलि कहाँ बस्ने भन्ने चिन्तामै दिन बिताउन बाध्य छौँ । हाम्रा लागि यसपालिको दसैँले कुनै खुसी ल्याउन सकेन ।’ यसैबिच, बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकारले राहत वितरण गरेको छ ।
सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद रेग्मीका अनुसार प्रभावित समुदायको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराएको छ । यद्यपि, क्षति ठुलो भएकाले सुस्तावासी अझै पूर्ण पुन:स्थापना र दीर्घकालीन समाधानको पर्खाइमा छन् । नारायणी नदीको बाढी र कटानको स्थायी समाधान नहुँदा सुस्ताका बासिन्दाले हरेक वर्ष चाडपर्वसमेत अनिश्चितता र अभावबीच बिताउनुपर्ने अवस्था रहेको छ ।

