दशैँमा दुर्गा भगवतीको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा सप्तरीमा बढ्दै गएको छ । विशेषगरी भाकल पूरा भएपछि मनोकामना सिद्ध भएको विश्वासमा दुर्गा भगवतीको मूर्ति बनाएर पूजा गर्नेहरूको सङ्ख्या गाउँगाउँमा बढ्दै गएको हो ।
सप्तरीका विभिन्न स्थानमा दशैँका अवसरमा सामूहिक रूपमा दुर्गा भगवतीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरिएको छ । त्यसैगरी, भाकल गरेका व्यक्तिले आफ्नो घरमा व्यक्तिगत रूपमा छुट्टै मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परासमेत रहिआएको छ ।
धार्मिक आस्था र विश्वाससँग जोडिएको यस परम्परा अन्तर्गत कतिपयले मनोकामना पूरा होस् भनेर भगवतीसँग भाकल गर्ने गरेका छन् । भाकल पूरा भएपछि प्रतिज्ञा अनुसार मूर्ति बनाएर पूजा गर्ने चलन छ । कतिपयले भने भगवतीले सपनामा दर्शन दिएको विश्वासमा कुनै वर्षदेखि हरेक वर्ष मूर्ति बनाएर पूजा गर्दै आएका छन् ।
यसरी मूर्ति स्थापना गरी पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । रुपनी गाउँपालिका–४ का धनेश्वर यादवले ११ वर्षदेखि व्यक्तिगत रूपमा भगवतीको मूर्ति स्थापना गरी पूजा गर्दै आएको बताए । आफ्नो मनोकामना पूरा भएको र माता भगवतीबाट आभास प्राप्त भएको विश्वासमा हरेक वर्ष मूर्ति बनाएर पूजा गर्दै आएको उनले सुनाए ।
दसैँमा मूर्ति निर्माण गरी पूजा गर्ने परम्पराले धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत बोकेको छ । घटस्थापनादेखि सुरु हुने नवरात्रमा दुर्गा भगवतीका विभिन्न स्वरूपको पूजाआराधना गरिँदै आएको पण्डित कमलकान्त झाले बताए । उनका अनुसार श्रद्धालु भक्तजनले शक्तिस्वरूपा भगवतीको उपासना गर्दै परिवार तथा समाजको कल्याणको कामना गर्ने गर्छन् ।
सामूहिक रूपमा मूर्ति स्थापना गर्दा गाउँ तथा टोलका बासिन्दा एकजुट भएर पूजा व्यवस्थापनमा जुट्ने गरेका छन् । व्यक्तिगत रूपमा मूर्ति स्थापना गर्नेहरूले पनि परिवारका सदस्य तथा आफन्तको सहभागितामा पूजाआजा गर्छन् । व्यक्तिगत रूपमा मूर्ति स्थापना गरिए पनि त्यसमा सामाजिक तथा सामूहिक सहभागितासमेत रहने गरेको छ ।
यसले धार्मिक आस्थालाई निरन्तरता दिनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुर्याउँदै आएको मैथिली साहित्य परिषद् सप्तरीका पूर्वअध्यक्ष सतीशकुमार दत्तले बताए । सप्तरीमा दशैँका बेला मूर्ति निर्माण, पूजा व्यवस्थापन र धार्मिक अनुष्ठानमा स्थानीयको सक्रियता देखिने गरेको छ । भाकल पूरा भएपछि मूर्ति बनाएर पूजा गर्ने प्रचलनले व्यक्तिगत आस्था र शक्तिपीठप्रतिको विश्वासलाई समेत प्रतिबिम्बित गरेको उनको भनाइ छ ।

