शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दसैँको तयारी । कमेरो, रातोमाटो दलेर चिटिक्क पारेको घर, यतिबेला गाउँका डाँडा, चौर र दोबाटामा पिङको चचहुई सुनिनुपर्ने हो तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ ।
काठमाडौँको नाङ्लेभारेका ८६ वर्षीय जीवनलाल पौडेललाई आफ्नो बाल्यकालको दसैँ अझै ताजै लाग्छ । उनी भन्छन्, ‘दसैँमा कम्तीमा एक पटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यता थियो । पिङ नखेले दसैँ नै अधुरो लाग्थ्यो ।’ उनका अनुसार अहिले पिङमा बाँकटे मार्ने पुस्ताको ठाउँ मोबाइलको पर्दामा झुकेको पुस्ताले लिँदै गएको छ ।
दसैँमा पिङ खेल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दसैँ मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ । नेपाली लोकसाहित्य, गीत र कथामा पिङको बारम्बार उल्लेख हुनु यसको पुरानो सांस्कृतिक सम्बन्धको प्रमाण मानिने उनले बताए ।
विश्व इतिहासमा पनि पिङको उल्लेख पाइन्छ । इसापूर्व पाँचौँ शताब्दीको ग्रिक सभ्यतासम्बन्धी सामग्रीमा महिला र बालबालिका पिङ खेलिरहेको चित्र भेटिएको छ । १२ औँ शताब्दीमा जयदेवद्वारा रचित ‘गीतगोविन्द’मा वर्णित झुला संस्कृतिले पनि दक्षिण एसियाली समाजमा पिङको विकाससँग सम्बन्ध राखेको अनुमान गरिन्छ ।
पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको छ । स्वास्थ्यकर्मी उज्ज्वल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन् । यसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मानसिक ताजगीसमेत प्रदान गर्छ । चाडपर्वमा खानेकुरा बढी सेवन गरिने भएकाले पाचन प्रक्रियालाई सहज बनाउन पनि पिङ उपयोगी मानिन्छ ।
पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो । सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवकयुवती पिङ हालिएको चौरमा भेला हुन्थे । दोहोरी गाउने, साथीभाइ भेट्ने, शुभकामना साटासाट गर्ने र नयाँ सम्बन्ध गाँस्ने थलो पिङ नै बन्थ्यो । लोकगायक रामहरि न्यौपाने पिङलाई ‘मायाप्रेम अङ्कुराउने र सामाजिक एकता बलियो बनाउने साझा चौतारी’का रूपमा सम्झन्छन् ।
तर समयसँगै यो परम्परा ओझेल पर्दै गएको छ । बढ्दो सहरीकरण, प्रविधिको प्रभाव र वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन् । वरिष्ठ सर्जक तथा लोकगायक मच्छेश्वर सापकोटा भन्छन्, ‘पहिले गाउँ सुन्दर थियो, किनकि त्यहाँ मान्छे थिए । अहिले गाउँमा पिङ हाल्ने र खेल्ने मान्छे नै कम हुँदै गएका छन् ।’
पिङ बनाउन आवश्यक बाँस, बाबियो र सनपाटको अभाव अर्को चुनौती बनेको छ । उदयपुर कटारीका नवीन विष्टका अनुसार चाहना हुँदाहुँदै पनि नयाँ पुस्तामा पिङ बनाउने सिप हस्तान्तरण हुन सकेको छैन । अहिलेका युवा चौरमा भेला भएर पिङ खेल्नुभन्दा मोबाइलमा समय बिताउन रुचाउँछन् । तर सबै ठाउँको अवस्था निराशाजनक छैन ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, मकैटारमा ४३ वर्षपछि स्थानीय युवा र ज्येष्ठ नागरिकको सक्रियतामा रोटे पिङ पुन:निर्माण गरिएको छ । २०३६ सालपछि रोकिएको परम्परा पुनर्जीवित हुँदा गाउँलेले फेरि दसैँको पुरानै रौनक फर्किएको अनुभूति गरेका छन् । त्यहाँ अहिले रोटेपिङ र लिङ्गेपिङ हालिएको छ ।
स्थानीय जनप्रतिनिधि उमेशराज महतले ज्येष्ठ नागरिकको अनुभव र युवाको जाँगर मिल्दा परम्परा जोगाउन सकिन्छ भन्ने उदाहरण मकैटारले प्रस्तुत गरेको बताए । तराई मधेश क्षेत्रमा सनपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ । जलेश्वरका राकेशकुमार चौधरीका अनुसार सनपाट खेती घटेसँगै पिङ निर्माणका सामग्री जुटाउन कठिन हुन थालेको छ ।
‘पहिले टोलैपिच्छे पिङ हुन्थ्यो, अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ,’ उनी भन्छन् । पिङको आधुनिक रूपका रूपमा बन्जी जम्पलाई पनि लिन सकिन्छ । परम्परागत पिङले दिने हावामा उडेको अनुभूति आधुनिक प्रविधिसहित बन्जी जम्पमा विकसित भएको छ । दुई दशकदेखि बन्जी प्रशिक्षकका रूपमा कार्यरत विश्व बजगाईंका अनुसार दुवैको मूल आधार डोरीमार्फत रोमाञ्चक अनुभव प्राप्त गर्नु नै हो ।
पिङ संस्कृतिको संरक्षण गर्न सरकारी तथा संस्थागत प्रयास पनि सुरु भएका छन् । नेपाल पर्यटन बोर्डले दसैँका अवसरमा काठमाडौँ उपत्यकासहित विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढाएको छ । बोर्डले स्थानीय तह र पर्यटनसम्बद्ध संस्थासँगको सहकार्यमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।
संरक्षणकर्मी श्रीकृष्ण धिमालका अनुसार पिङ केवल बाँस, रुख, काठ र डोरीको संरचना होइन, यो नेपाली समाजको सामूहिकता, एकता र सांस्कृतिक पहिचानको प्रतीक हो । ‘अघिल्लो पुस्ताले जोगाएर ल्याएको यो धरोहर नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकेनौँ भने कुनै दिन दसैँ त आउला तर पिङको चचहुई र धर्ती छाड्दाको रोमान्स इतिहासमा मात्र सीमित हुन सक्छ,’ उनी भन्छन् ।
दसैँको वास्तविक रौनक जमरा, टीका र नयाँ लुगामा मात्र सीमित छैन । गाउँको चौरमा हावासँगै मच्चिने पिङ, त्यस वरिपरि भेला भएका मानिस र साझा खुसीको त्यो क्षणमा पनि दसैँको आत्मा लुकेको छ । यही आत्मालाई जोगाइराख्नु अहिलेको सबैभन्दा ठुलो चुनौती बनेको उनले बताए ।

