२०८३ असोज २७ , मंगलबार 13, October 2026, Tuesday

भोटेकोशी बाढी : बेपत्तालाई मृत घोषणा गरी प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार विपद् ऐन संशोधन गरी बेपत्ता भएका व्यक्तिलाई ४५ दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्थाका आधारमा बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । उप्रेतीले डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरणको प्रक्रिया थप सहज हुने जानकारी दिए । विपद् ऐनमा केही संशोधन गरेर फास्टट्र्याकबाट मृत घोषणा गर्ने व्यवस्था गरिएको छ । ‘राजपत्रमा प्रकाशित भएपछि त्यसलाई आधार मानेर काम गर्न सजिलो भएको छ,’ उनले भने ।

उनका अनुसार अहिलेसम्म बेपत्ता भएकाहरूको हकमा मृत्यु वा मृत्युसरह प्रमाणित गरी स्वदेशी र विदेशी नागरिकलाई प्रमाणपत्र दिने तयारी अन्तिम चरणमा पुगेको छ । कार्यकारी प्रमुख उप्रेतीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ७५ जिल्लाका नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको पनि जानकारी दिए । यस विषयमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको उनले बताए ।

बाढीपछिको पुन:निर्माण तथा पुन:स्थापनाका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढाइसकेको पनि उनले जानकारी दिए । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा बाढीबाट क्षति भएका क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी पुन:स्थापनाको काम अघि बढाइएको उनको भनाइ छ । यसैबीच, गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीपछिको उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार