२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

नेपालबाट पूर्ण रूपमा बाहिरिँदै ‘मनसुन’

यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ ।

अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् । आफूहरूले मनसुनको निरन्तर निगरानी गरिरहेको उनले उल्लेख गरिन् । ‘हामी मनिटरिङ गरिराखेका छौँ,’ उनले भनिन्, ‘वातावरणचाहिँ बन्दै छ, अझै पूर्ण रूपमा बाहिरिइसकेको छैन । अबको दुई–चार दिन लाग्ला ।’ मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गर्ने उनले जानकारी दिइन् ।

महाशाखाले यही असोज १७ गते देशका केही भूभागबाट मनसुन बाहिरिएको जनाएको थियो । ‘आज मिति २०८३ असोज १७ (०३ अक्टोबर, २०२६)का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ,’ महाशाखाले भनेको थियो । त्यसपछि महाशाखाले मनसुन बाहिरिएको विषयमा अर्को बुलेटिन जारी गरेको छैन ।

‘अबको दुई–चार दिनमा विशेष बुलेटिन जारी गर्छौं होला,’ मौसमविद् सिग्देलले भनिन्, ‘हाल पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।’ मनसुन कमजोर र पश्चिमी वायु पनि मजबुत नभएकाले यतिबेला देशमा वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । ‘पश्चिमी वायु पनि अहिले स्ट्रङ भएर आइसकेको छैन,’ उनले भनिन्, ‘धेरै स्ट्रङ भए त धेरै पानी परिहाल्छ । अलिकति प्रभाव छ दुवै वायुको ।’

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यो सरदर मिति मात्र भएकाले यसभन्दा ढिलो वा चाँडो पनि हुन सक्ने मौसमविद्ले बताउँदै आएका छन् । महाशाखाका अनुसार, नेपालमा मनसुनको सरदर अवधि ११२ दिन हो । तर, गत वर्ष सबैभन्दा लामो समय अर्थात् १३५ दिन यहाँ मनसुनी वायु थियो । नेपालमा तथ्यांक राख्न थालिएयता सन् १९७९ मा मनसुन अवधि सबैभन्दा छोटो अर्थात् ७३ दिनको थियो ।

देशमा पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी अर्थात् जुन १९ मा नेपाल प्रवेश गरेको थियो । नेपालमा मनसुन कोसी प्रदेश हुँदै भित्रन्छ र बिस्तारै सुदूरपश्चिमसम्म फैलन्छ । बहिर्गमनको सुरुआत सुदूरपश्चिमबाट हुन्छ र बिस्तारै कोसी प्रदेश नै हुँदै बाहिरिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार