दसैँ नजिकिएसँगै लुम्बिनी प्रदेशका बाँके र दाङका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक बढेको छ । दिनभरि खेतीपाती र घरायसी काममा व्यस्त हुने महिला तथा पुरुष साँझपख भेला भएर मादल र मन्जौराको तालमा सखिया गीत गाउँदै नाच्न थालेका छन् । यो नाच दसैँ सकिएको केही दिनसम्म चल्ने परम्परा छ ।
थारू समुदायको मौलिक पहिचानसँग जोडिएको सखिया नाचले चाडपर्वको उल्लास बढाउनुका साथै पुस्तौँदेखि चल्दै आएको संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको छ । घोराही उपमहानगरपालिका–१६, बयरबटुवा गाउँकी सखिया नाचकी अगुवा (मोह्रिन्या) ललिता चौधरी साँझ खाना खाएपछि मन्जौरा लिएर मटाँवाको घर पुग्छिन् ।
त्यहाँ भेला भएका महिला तथा पुरुष मादल र मन्जौराको तालमा गीत गाउँदै नाच्छन् । उनका अनुसार दसैँका बेला करिब एक महिनासम्म सखिया नाच्ने चलन छ । सखिया नाचकी अगुवा (मोह्रिन्या) ललिताले भनिन्, ‘सखिया गीतमा हाम्रो मौलिक पहिचान, सभ्यता र संस्कृति जोडिएको छ । यही नाचले गाउँलाई एकतामा बाँध्छ ।’
घोराही–७, हनरियाकी सानुमाया चौधरीले पनि दिनभरि घरायसी काममा व्यस्त भए पनि साँझ सखिया नाचमा सहभागी हुँदा थकान बिर्सिने गरेको बताइन् । उनका अनुसार यो नाचले समुदायका सदस्यबिच भेटघाट, आपसी सद्भाव र सहकार्य बढाउनुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति चिन्ने अवसर दिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका मैटहवाका थारू अगुवा दीपेन्द्र चौधरीका अनुसार थारू बस्तीमा दसैँ आउनुअघि नै सखिया नाच सुरु हुन्छ । दिनभरिको काम सकेपछि साँझ सामूहिक रूपमा नाच्ने परम्पराले चाडपर्वको आगमनको सङ्केत गर्छ । नाचको संरक्षणमा गाउँका बडघर र अगुवाको भूमिका रहने तथा धार्मिक विश्वास अनुसार गुरुवाको व्यवस्था गर्ने चलन छ ।
राप्तीसोनारी गाउँपालिका बैजापुरका थारू अगुवा विक्रम थारूका अनुसार सखिया नाचमा युवतीहरू नाच्ने र युवकहरूले मादल बजाउने गर्छन् । नाचमा १५ देखि २० जनासम्म युवती सहभागी हुने र उनीहरूले परम्परागत फरिया, चोलिया तथा थारू संस्कृति झल्किने गहना लगाउने चलन छ ।
बाँकेको टिटिहिरियाका शङ्करसिंह थारूका अनुसार सखिया गीतमा विभिन्न देवीदेवताको प्रार्थना गर्दै शान्ति र रक्षाको कामना गरिन्छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुणबहादुर चौधरीका अनुसार सखिया गीतमा महाभारतका कथासँगै खेतीपाती, कृषि औजार, दैनिक जीवनशैली र सामूहिक श्रमका विषय समेटिन्छन् ।
सखिया नाच विशेष गरी डङ्गौरा थारू समुदायमा प्रचलित छ । सखिया नाच मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक सम्बन्ध बलियो बनाउने र सांस्कृतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यमका रूपमा स्थापित भएको छ । दसैँसँगै थारू बस्तीमा बढेको यसको रौनकले समुदायको मौलिक पहिचान र परम्परालाई निरन्तरता दिएको छ ।

