बडादसैँ नजिकिएसँगै गण्डकी प्रदेशको मुख्य व्यापारिक केन्द्र पोखरामा हिमाली च्याङ्ग्राको आगमनले छुट्टै रौनक थपेको छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्रा पोखराका बजारमा पुग्न थालेका छन् ।
यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाका विकट खर्क र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ओराल्ने लक्ष्य राखिएको छ । हिमाली हावापानी र स्वच्छ प्राकृतिक खर्कमा चरेका यी च्याङ्ग्रा केवल मासुका लागि मात्र नभई नेपाली मौलिक चाडपर्वको अभिन्न सांस्कृतिक र आर्थिक धरोहर मानिन्छन् ।
यस वर्ष च्याङ्ग्रा पोखरा ल्याउने यात्रा भने सहज रहेन । कालीगण्डकी करिडोरमा आएको अविरल वर्षा, भीषण बाढी र पहिरोले बाटो ठाउँ–ठाउँमा अवरुद्ध पारेको थियो । दार्चुलाका व्यापारीहरूले चार दिनसम्म निरन्तर कष्टकर ढुवानी र मुस्ताङका गोठालाहरूले हप्तौँको पदयात्रा गरेर च्याङ्ग्रा सुरक्षित रूपमा पोखरा पुर्याएका छन् ।
यसैबीच मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ आफैँ च्याङ्ग्रा धपाउँदै पोखराको याम्दी बजार पुगेका छन् । आफ्नो वडालाई च्याङ्ग्राको ‘पकेट क्षेत्र’ घोषणा गरेका वडाध्यक्ष गुरुङ किसान र आफ्नै गोठका सयौँ च्याङ्ग्रा जोगाउँदै बजार ओर्लिएका हुन् ।
कालीगण्डकी नदीको बाढीले मुस्ताङ–पोखरा सडकखण्डका कयौँ भाग बगाउँदा भोक, निन्द्रा र चिसोको सामना गर्दै च्याङ्ग्रा ओरालेका गुरुङले भने, ‘हिमाली जडीबुटी खाएको हाम्रो गाउँघरको रैथाने काठे च्याङ्ग्रा अरू जस्तो हुँदैन, यसको मासु निकै स्वादिलो र स्वस्थ हुन्छ’ ।
हाम्रा किसानहरूले वर्षभरि हिमाली चिसो र खर्कमा गरेको पसिनाको मूल्य विचौलियाले नभई किसान स्वयंले पाउनुपर्छ भन्ने आफ्नो अठोट रहेको उनले बताए । राजनीति जनताको जीवनसँग जोडिनुपर्ने उल्लेख गर्दै जब गोठाला बाढीपहिरोमा जोखिम मोलेर च्याङ्ग्रा हिँडाउँछन्, तब वडाध्यक्ष कुर्सीमा बसेर हेरिरहन नसक्ने धारणा उनले व्यक्त गरे ।
विगतका वर्षहरूमा पोखराका सडक किनार र चौरमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर, ट्राफिक जाम र मूल्यमा अन्धाधुन्ध मोलमोलाइ हुने गरेकोमा यसपटक याम्दीमा दृश्य फेरिएको छ । जौवारी वन उपभोक्ता समितिका सदस्य एवं खसी–बोका तथा च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाको सक्रियतामा सडक छेउमा ५० भन्दा बढी व्यवस्थित, सुरक्षित र हावाहुरी थेग्ने काठे खोर निर्माण गरिएका छन् ।
प्रत्येक खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था मिलाइनुका साथै पारदर्शिताका लागि डिजिटल तौल काँटा राखिएको छ । यसले गर्दा उपभोक्ताले वास्तविक वजनका आधारमा मूल्य तिरेर च्याङ्ग्रा किन्न पाएका छन् । अहिलेसम्म १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा आइसकेको र निजी जग्गासमेत गरी ४० भन्दा बढी खोर बनाइएको संयोजक राणाले जानकारी दिए ।
हिमाली पाटनमा यार्सागुम्बा, पदमचाल, जटामसी र पाँचऔँले जस्ता बहुमूल्य जडीबुटी चरेका काठे च्याङ्ग्राको मासु पोसिलो र प्राकृतिक रोग प्रतिरोधी मानिन्छ । भेडा–च्याङ्ग्रा किन्न आएका यामकान्त गौतमले लेकबाट झारिएका र जडीबुटी खाएका च्याङ्ग्रा स्वच्छ हावापानीमा हुर्किएकाले केही महँगो भए पनि दसैँ मनाउन खरिद गरेको बताए । पोखराको याम्दीमा च्याङ्ग्रा किन्ने र हेर्न जाने सर्वसाधारणको उत्साहले दसैँको उमङ्ग बढाएको छ ।

