आज मंगलबार खासै वर्षाको सम्भावना देखिएको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
यस क्रममा दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशका हिमाली भूभागमा थोरै तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस्तै आज राति देशको हिमाली भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
यस क्रममा कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ । आज काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना एकदम कम देखिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा दिउँसोपछि वा साँझपख कतै कतै हल्का वर्षा हुने सम्भावना केवल २० प्रतिशत छ ।
यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस छ । यद्यपि यो सुरुवाती मापन हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्तिम र आधिकारिक मापन अहिले बिहान ८:४५ बजे गरिन्छ । त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ ।
आज काठमाडौँको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियसको बिचमा रहने सम्भावना देखिएको मौसमविद् लामिछानेले बताए । हिजो सोमबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम १४.५ र अधिकतम २७ डिग्री सेल्सियस थिए । मनसुन बाहिरिँदै र पश्चिमी वायु फैलिँदै गर्दा वर्षा हुने क्रम ह्वात्तै घटेको छ भने देशभर क्रमश: तापक्रम घट्दो र चिसो बढ्दो छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी र मनसुनी दुवैथरी वायुको प्रभाव छ । यद्यपि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पूरै भागबाट मनसुन हटिसकेको छ भने लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका थोरै ठाउँबाट पनि मनसुन बाहिरिसकेको छ । देशका बाँकी स्थानमा मात्र मनसुन छ ।
अब चाँडै पूरै देशबाट मनसुन बाहिरिने मौसमविद्ले बताएका छन् । मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट–मनसुन सिजन सुरु हुन्छ । यो सिजन दुई महिना, अक्टोबर र नोभेम्बरसम्म रहन्छ । यो सकिएपछि डिसेम्बरदेखि नेपालमा विन्टर अर्थात् जाडो याम लाग्छ । विन्टर अर्थात् हिउँद तीन महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ ।
विन्टरको अन्त्यपछि मार्च १ देखि प्रि–मनसुन लाग्छ । प्रि–मनसुन तीन महिना– मार्च, अप्रिल र मेसम्म रहन्छ । त्यसपछि फेरि मनसुन प्रवेश गर्छ । मौसमविद्का अनुसार प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा चार भागमा वर्गीकरण गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

