शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री सतहको तापक्रम गत सेप्टेम्बरमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु)को जलवायु अनुगमन सेवाले जनाएको छ ।
वैज्ञानिकहरूले यसका कारण सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन् । इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार प्रशान्त महासागरको ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो ।
यो सन् १९८२–१९८३, १९९७–१९९८ र २०१५–२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो । यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढिसकेकाले हालको एल निनोलाई अहिलेसम्मकै शक्तिशाली भन्न नसकिने कोपर्निकसले स्पष्ट पारेको छ ।
गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो ।
कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोको प्रभावका कारण सन् २०२७ सम्म पनि मासिक विश्वव्यापी तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धिको जोखिम कम गर्न जीवाश्म इन्धनको प्रयोगबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण छ । एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो ।
यसका कारण प्रशान्त महासागरको सतहको तापक्रम बढ्नुका साथै विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन आउँछ । यसले विभिन्न क्षेत्रमा खडेरी, अत्यधिक वर्षा र बाढीको जोखिम बढाउन सक्छ । एल निनो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्ने र नौदेखि १२ महिनासम्म रहने गर्छ ।

