बडादसैँ अन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिनुका साथै पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो ।
दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । संसारका समग्र प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने धार्मिक मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका साथ सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा बिहानैदेखि पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको घुइँचो लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नौ दिनसम्म पूजा आराधना गरी ग्रहण गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने परम्परा छ ।

