गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुमलिङको बिचमा ठूलो पहिरो गई बूढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले विभिन्न स्थानमा पुल, घर, बस्ती तथा जलविद्युत् आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको भए पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टर तैनाथ गरिएका छन् । प्रभावित स्थलमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बलका १७७ गरी कुल ३८७ जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । इलाका प्रहरी कार्यालय आरुघाटको टोलीले नदी तटीय क्षेत्रका बासिन्दा तथा सल्लेरीस्थित टाइम्स ऊर्जा जलविद्युत् आयोजनाका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारेको छ ।
यसैबिच, जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट बिहान ६ बजे नै सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन र नवलपरासीसम्मका सर्वसाधारण तथा २२१ जना उद्धारकर्मीहरूलाई एसएमएस मार्फत पूर्वसूचना र सतर्कता सन्देश पठाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले बताएका छन् । प्राविधिक तथा सुरक्षा निकायको प्रारम्भिक विवरणअनुसार बाढीले ठूलो भौतिक विनाश निम्त्याएको छ ।
बाढीले चुमनुब्री–३ न्याकचेत र सिर्दीबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे–५ माछीखोला–करौँजा झोलुङ्गे पुल, र आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ । यसै गरी आरुघाट–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने तीन भागमा रहेको पक्की पुलको गोरखातर्फको एक भाग बाढीले ढालेको छ । न्याकचेतमा घर बगाउनुका साथै माछीखोलाको तल्लो बस्तीका २० देखि २२ घर जोखिममा परेका छन् । सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजना नजिकका ७ देखि ८ वटा घर बगेका छन् ।
धादिङको त्रिपुरासुन्दरी–१ विशालनगरका करिब १०० घरधुरीमा लेदो पसेको छ भने नरसिंह धाम मन्दिर र गुरुकुल शिक्षालय उच्च जोखिममा परेका छन् । जलविद्युत् आयोजनाहरूतर्फ ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र निर्माण उपकरणहरू बाढीले बगाएको छ । २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प र बेलिब्रिज, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिज तथा उपकरण, र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र पुलमा क्षति पुगेको छ ।
विपद्लगत्तै कार्यकारी प्रमुख उप्रेतीको नेतृत्वमा कमान्ड पोस्टको बैठक निरन्तर बसिरहेको छ । बाढीको वास्तविक कारण अध्ययन गर्न र आरुघाटमा बगेको पक्की पुलको ठाउँमा तत्काल बेलिब्रिज जडान गर्न सकिने वा नसकिनेबारे सम्भाव्यता खोज्न प्राधिकरण र सडक विभागको संयुक्त प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । प्राधिकरणले बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दाहरूलाई नदीको बहाव घटे पनि जोखिम कायमै रहेकाले आइतबार साँझसम्म सुरक्षित स्थानमा रहन र जोखिमयुक्त पुल तथा सडकमा आवतजावत नगर्न पुनः अपिल गरेको छ ।

