बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२–०८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ४१७ ले बढेको हो ।
जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका १३४ जना छन् । नेपाल परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनु पर्ने जोखिम क्रमशः घट्दै गएको बताइन् ।
नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उनको भनाइ छ । नेपाल परिवार नियोजन संघका २० शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरण भइरहेको बताए ।
उनका अनुसार विगतमा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, संक्रमण, पाठेघरमा चोटपटकदेखि महिलाको ज्यानै जोखिममा पर्नेसम्मका समस्या देखिने गरेको थियो । डा.बुढाथोकीले तोकेका स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन आग्रह गरे ।
