राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त छन् ।
हाल उनले फाउन्डेशनमा रहेका ६०० गाईगोरुको हेरचाह गर्दै आएका छन् । गाईगोरुको सङ्ख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ । कर्मचारीको उचित परिचालन र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै छ ।
गाईगोरुलाई दानापानी खुवाउनेदेखि चरनका लागि लैजानेसम्मका कामको नेतृत्व उनले नै गर्छन् । लामो समयदेखि गाईगोरुको हेरचाह गर्दै आएकाले फाउन्डेशनमा रहेका गाईगोरु उनले बोलाउँदा जता बोलाए पनि त्यतै पुग्ने गरेको उनी बताउँछन् ।
‘मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्, मेरो भाषा बुझ्छन्,’ उनले भने । ठूलो सङ्ख्यामा रहेका चौपायालाई उचित व्यवस्थापन गर्न भने निकै समस्या रहेको उनको गुनासो छ । गाईगोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको उनले बताए ।
केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि गाईगोरुलाई घाँस खुवाउन सहज भएको उनले बताए । गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाइ छ ।
