हिन्दुको महान् पर्व दसैँतिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् । नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली अहिले ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक राजन भट्टराईले चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली स्वदेश फर्किने क्रम बढेको बताए । उनका अनुसार अहिले यो नाकाबाट दैनिक हजारभन्दा बढीको सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।
दसैँतिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाह नाकामा सहज बनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहले रिक्सा, ई रिक्सा, बस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा सो सम्भावनालाई हेरेर नेपाल प्रहरीले कडा निगरानी गरिरहेको जनाएको छ ।
भारतको सिमलाबाट १२ जनासहित फर्किएका सुर्खेत रामघाटका रमेश विकले गत वर्षको दसैँमा जेनजी आन्दोलनको अवस्थाले गर्दा घर फर्किन नसकेको जनाउँदै यस पटक सबै आफन्त र साथीभाइलाई भेट्न मन लागेकाले छिट्टै फर्किएको बताए । दैलेख डुङ्गेश्वरका महेश थापाले अरू बेला जे जस्तो भए पनि दसैँतिहार जस्ता चाडपर्व आफ्नै गाउँठाउँमा मनाउँदा राम्रो लाग्ने भएकाले घर फर्किएको बताए ।
अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको सङ्ख्या बढ्दै गएपछि सीमापारि रुपैडियाको प्रहरीसँग समन्वय गरेर फर्किनेको सुरक्षा र व्यवस्थापनका लागि अनुरोध गरिएको जमुनाह प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले भारतका विभिन्न सहरबाट आएका नेपाली रातिको समयमा रुपैडिया पुगेपछि उनीहरूसंग नराम्रो व्यवहार हुने तथा रिक्साचालकले ठगी गर्ने जस्ता घटना नहून् भन्ने उद्देश्यले भारतीय प्रहरीसँग समन्वय गरिएको जनाएको छ ।
