छिमेकी सल्यानमा ९ जनाको मृत्यु हुँदै गर्दा जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको पाइएको छ । साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा ४०४ जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा १२२ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौ र असोजमा संक्रमण बढेको देखिएको छ । साउनमा १९ जनामा संक्रमण पुष्टि भएकामा भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण देखिएको हो । तीन महिनाको अवधिमा परीक्षण गरिएकामध्ये करिब ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा सबैभन्दा धेरै संक्रमित नलगाड नगरपालिकामा भेटिएका छन् । नलगाडमा २०३ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो । नलगाडमा साउनमा १५, भदौमा २७ र असोजमा ३४ जनामा संक्रमण देखिएको छ । असोजमा मात्रै नलगाडमा संक्रमण पुष्टि हुनेको संख्या साउनको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ ।
जिल्ला अस्पतालमा पनि संक्रमण बढ्दो
जिल्ला अस्पताल जाजरकोटमा तीन महिनामा १९३ जनाको परीक्षण गर्दा ४२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । अस्पतालमा साउनमा चार, भदौमा २९ र असोजमा नौ जनामा संक्रमण देखिएको हो । अस्पतालका अनुसार अहिले दुई जना स्क्रब टाइफसका बिरामी उपचाररत छन् ।
अस्पतालमा परीक्षणका लागि आउने बिरामीको संख्या र संक्रमणको अवस्थालाई हेर्दा जिल्लामा रोगको जोखिम कायम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । छेडागाड नगरपालिकामा भने परीक्षणको संख्या कम भए पनि संक्रमणको दर उच्च देखिएको छ । त्यहाँ आठ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ । चारै जना असोज महिनामा संक्रमित भेटिएका हुन् ।
समयमै परीक्षण र उपचारमा जोड
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा सुनिल पुनले स्क्रब टाइफसको लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराए रोग निको हुने बताए । उनले संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलाग्न आग्रह गरे ।
‘लक्षण देखिएपछि घरमै बसेर अनुमानका भरमा औषधि सेवन गर्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्छ,’ उनले भने । स्क्रब टाइफस ‘ओरिएन्टिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । संक्रमित झाडी तथा घाँसे क्षेत्रमा पाइने सानो किर्नाजस्तो ‘चिगर’को टोकाइबाट मानिसमा यो रोग सर्ने गर्दछ ।
विशेषगरी वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने स्वास्थ्यकर्मी बताउँछन् । संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक कमजोरी हुने, खोकी लाग्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन् । चिगरले टोकेको स्थानमा कालो दाग वा घाउजस्तो चिन्हसमेत देखिन सक्ने चिकित्सक बताउँछन् ।
समयमै रोग पहिचान गरी चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक उपचार गरेमा स्क्रब टाइफस निको हुने भए पनि उपचारमा ढिलाइ भएमा फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न हुन सक्ने चिकित्सकको भनाइ छ ।
संक्रमण नियन्त्रणका लागि तयारी
जिल्लामा संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले रोकथाम तथा नियन्त्रणका लागि तयारी अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज बरालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा संक्रमण देखिएको तथा छिमेकी जिल्लामा समेत संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो ।
बैठकले जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, जिल्ला अस्पताल तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक तयारी गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । संक्रमितको परीक्षण, पहिचान र उपचारका लागि जिल्ला अस्पताल तथा स्थानीय तहअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ ।
सर्वसाधारणलाई रोगबारे जानकारी गराउन रेडियो, एफएम, स्थानीय सञ्चारमाध्यम, कार्यालयका वेबसाइट तथा सामाजिक सञ्जालमार्फत स्क्रब टाइफसका लक्षण, रोकथाम, उपचार र नियन्त्रण सम्बन्धी सूचना तथा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको छ ।
नियमित विवरण संकलन गरिने
जिल्लामा स्क्रब टाइफस संक्रमणको अवस्था नियमित रूपमा अद्यावधिक गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई जिम्मेवारी दिइएको छ । कार्यालयले स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबाट संक्रमितको विवरण संकलन गरी जिल्लाको समग्र अवस्था तयार पार्ने र नियमित रूपमा जिल्ला सुरक्षा समितिमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
स्वास्थ्यकर्मीले झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा ज्वरोसहितका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन् ।
