२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

बाँकेको जमुनाहा नाकामा यात्रु सहायता कक्ष

भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला स्वदेश फर्किने यात्रुले सीमा नाकादेखि गन्तव्यसम्म ठगी, लुटपाट, यातायातको समस्या तथा अन्य असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सहायता कक्ष स्थापना गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा लुटपाट, ठगी लगायतका घटना हुन नदिन तथा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सहायता कक्ष सञ्चालन गरिएको बताए । भारतबाट घर फर्किने नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा निगरानी बढाइएको उनले बताए ।

‘नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाट लगायतका समस्या भोग्न नपरोस् भनेर नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।’ जमुनाहा नाकाबाट दसैँ, तिहार र छठ मनाउन स्वदेश फर्किने नेपालीको चाप बढ्ने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कक्षबाट यात्रुलाई गन्तव्यसम्म पुग्ने यातायात, भाडादर, बाटो तथा सुरक्षासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउनुका साथै समस्या परेका यात्रुलाई तत्काल सहयोग र समन्वय गरिनेछ । सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

प्रहरी उपरीक्षक जिसीले चाडपर्वका बेला हुन सक्ने ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए । प्रहरी उपरीक्षक जिसीका अनुसार भारतबाट फर्किने नेपालीलाई लक्षित गरी नेपालगन्ज र कोहलपुर बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । उक्त कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको छ ।

यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने, समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा शंकास्पद गतिविधिमाथि निगरानी गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ ।  यात्रुको सुरक्षा र यातायात व्यवस्थापनका लागि जनपद प्रहरीसँगै ट्राफिक प्रहरीसमेत परिचालन गरिएको छ । चाडपर्वमा सीमा नाकामा हुने भीडभाड र यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्न विशेष निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार