चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल अहिले गुमनाम बनेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम सुनसान बनेको हो । चैते दशैं र बडादशैंअघि पर्ने सोह्रश्राद्धको तिथिमा दैनिक सयौं धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीधाम असोज ८ गतेदेखि पूर्ण सुनसान छ ।
दिवङ्गत पितृको सम्झनामा कागबेनीधामस्थित कालीगण्डकी नदीको तटमा पिण्डदान, तर्पण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ । तेत्तीस कोटी देवताको वासस्थान मानिने धार्मिक तपोभूमि कागबेनीमा पूजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ । मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौं धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न आउने गर्छन् ।
यसरी आएका तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेर फर्किने गर्छन् । अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा सञ्चालित पितृतीर्थस्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाका अनुसार भदौ १० गतेको रसुवाको बाढी तथा असोज ८ गतेदेखिको भारी वर्षाका कारण आएको बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालुको संख्या शून्य जस्तै भएको छ ।
यस वर्षको सोह्रश्राद्धको आठौं दिन बितिसक्दा पनि एक प्रतिशत धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको कोइरालाले बताए । विगतमा दैनिक करिब ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न कागबेनीधाम आउने गर्थे । दशैंको सोह्रश्राद्धको अन्तिम दिन औंसी तिथिमा भने कागबेनीधाममा तीर्थालुको भीड थेगिनसक्नु हुन्थ्यो । औंसीको अघिल्लो र पछिल्लो दिन कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्मका होटल भरिभराउ हुन्थे ।
यस पटक भारी वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा भक्तजन तथा तीर्थालुको उपस्थितिमा पूर्णविराम लागेको छ । कागबेनीधाममा सडक अवरुद्ध भएका कारण जिल्ला बाहिरबाट श्राद्ध गर्न आएका एक दर्जनभन्दा बढी पुजारी समेत श्राद्ध गर्न नपाई आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । कागबेनी धर्मशालामा कार्यरत आठ जना पुजारीमध्ये तीन जना पनि घर फर्किएको पुजारी गौतम कोइरालाले बताए ।
उनका अनुसार यसपालिको सोह्रश्राद्धको आठौं दिनसम्म दैनिक दुई–तीन जनाले मात्रै पितृको नाममा श्राद्ध गरिरहेका छन् । यसपालि सडक अवरुद्ध भएकाले आठौं दिनसम्म जम्मा डेढ दर्जन जतिले मात्रै कागबेनीमा श्राद्ध गरेका छन् । त्यसमध्ये कतिपय जिल्लाभित्र रहेका निजामती कर्मचारी रहेको कोइरालाले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी आउने गर्थे ।
तर, यस वर्ष रसुवाको बाढी र भारी वर्षाका कारण सडक अवरुद्ध हुँदा पुजारी तथा पण्डितको उपस्थिति पनि न्यून भएको छ । धार्मिक आस्थाको केन्द्र मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिर सडक अवरुद्ध हुँदा पर्यटकविहीन अवस्थामा छन् । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड मानिने कागबेनीधाम र मुक्तिनाथ मन्दिरसम्म पुग्ने सडक अवरुद्ध हुँदा मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ ।
सोह्रश्राद्ध सुरु भएदेखि दशैंको नवरात्रसम्म ठूलो संख्यामा धार्मिक तीर्थालु मुस्ताङ आउने गरे पनि सडक अवरुद्ध भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बेनी–जोमसोम सडकमार्ग एक साताभन्दा बढी समयदेखि अवरुद्ध हुँदा कागबेनीधाममा बसेका पुजारी तथा पण्डित समेत कामविहीन बनेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित होटल याक डोनाल्डकी सञ्चालिका तथा पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी र भारी वर्षाले बेनी–जोमसोम सडकमा पुर्याएको क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताइन् ।
‘यो समय पर्यटकीय अनुकूल याम हो । यही बेला बेनी–जोमसोम सडक अवरुद्ध हुनु हामीहरूका लागि दुर्भाग्य हो,’ पर्यटन व्यवसायी गुरुङले भनिन्, ‘मुस्ताङको सिजनल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ । मुस्ताङ आउने योजना बनाएका पर्यटकहरूले समेत धमाधम होटल बुकिङ रद्द गरिरहेका छन् ।’ पर्यटन व्यवसायी गुरुङका अनुसार असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङको पर्यटन व्यवसायसँगै कृषक, यातायात व्यवसायी, उद्योगी तथा अन्य व्यवसायी प्रभावित भएका छन् । मुस्ताङमा अलपत्र परेका पर्यटक समेत विद्युत्, इन्टरनेट र सडक अवरुद्धका कारण समस्यामा परेका छन् ।
‘स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन् । अलपत्र परेका पर्यटक बैंकिङ सेवा बन्द भएर होटलमै बस्न बाध्य छन् । खाएर पैसा तिर्न समेत समस्या भएको छ,’ उनले भनिन्, ‘इन्धनको समस्या भइरहेको छ । विकास निर्माणका काम पनि सबै ठप्प छन् ।’ पर्यटन व्यवसायी गुरुङले सोह्रश्राद्धको समयमा झन्डै ५० हजारभन्दा बढी पर्यटक कागबेनीमा आउने गरे पनि अहिले त्यो अवस्था नरहेको बताइन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सबै क्षेत्रमा उत्तिकै असर परेको उनको भनाइ छ ।
मुस्ताङको कागबेनीस्थित कालीगण्डकी नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पितृ खुसी भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेको धार्मिक विश्वासका कारण कागबेनीधामको कालीगण्डकी नदीको तटलाई पुण्यस्थलका रूपमा लिने गरिन्छ । बर्सेनि सोह्रश्राद्धको तिथिमा कागबेनीधामको कालीगण्डकी नदीको तटमा हजारौं तीर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने गर्छन् ।
