सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी र देशको राजधानी काठमाडौँबीचको सीधा सम्पर्क विच्छेद प्रायः बनेको छ । लामो समयदेखि बैतडीको पाटन विमानस्थलमा उडान ठप्प छ भने पछिल्लो समय काठमाडौँ–बैतडी सीधा बस सेवा समेत अनिश्चित बनेपछि स्थानीय बासिन्दाले ठूलो सास्ती खेप्नुपरेको छ ।
स्थानीयका अनुसार हवाई र सीधा सडक दुवै माध्यमबाट राजधानीसँगको प्रत्यक्ष पहुँच टुट्दा आपत्कालीन बिरामी, विद्यार्थी, व्यापारी तथा चाडपर्वमा घर फर्किने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । १६ करोडबढी रुपैयाँ खर्चिएर कालोपत्रे र स्तरोन्नति गरिएको बैतडीको पाटन विमानस्थल अहिले गौचरन र सुनसान मैदानमा परिणत भएको छ ।
भव्य रूपमा स्तरोन्नति गरी उडान सुरु गरिए पनि यात्रुको अभाव र नेपाल वायुसेवा निगम तथा निजी एयरलाइन्सको बेवास्ताका कारण नियमित उडान कायम हुन सकेन । बैतडीवासीले हवाई यात्राका लागि अहिले पनि तीनदेखि चार घण्टाको कच्ची र घुमाउरो सडक पार गर्दै धनगढी वा अत्तरिया पुग्नुपर्ने बाध्यता छ ।
सिधा बस सेवा ठप्प, ‘यात्रुलाई पल्टी हान्नुपर्ने बाध्यता’

विमान नचले पनि कम्तीमा काठमाडौँबाट बैतडीसम्म सोझै पुग्ने लामो दूरीका बस सेवाले सर्वसाधारणलाई केही राहत दिएका थिए । तर, पछिल्लो समय सडकको दुर्दशा, भाडा दरको अनिश्चितता र यातायात व्यवसायीको मनपरीका कारण सिधा बस सेवासमेत नियमित हुन छाडेको स्थानीय धर्मराज भट्टले गुनासो गरे ।
‘यहाँबाट सिधा संघीय राजधानी जान सकिन्न, कि दार्चुला र बझाङको गाडीमा जानू पर्यो, कि कैलालीसम्म छुट्टै बसमा जानू पर्यो,’ भट्टले भने, ‘दार्चुला र बझाङबाट काठमाडौँ छुट्ने गाडीमा सीट पाइदैन’ । काठमाडौँबाट हिँडेका यात्रुहरूले अत्तरिया, महेन्द्रनगर वा धनगढी पुगेर गाडी फेर्नुपर्ने बाध्यता छ ।
सीधा गाडी नहुँदा काठमाडौँबाट बैतडी पुग्न ३० देखि ३६ घण्टासम्म लाग्ने गरेको छ भने बिचमा गाडी फेर्दा भाडा र अन्य खर्चसमेत दोब्बर हुने गरेको अर्का यात्रु नारायण सिंह भण्डारीले बताए । ‘राजधानीसँग सीधा जोडिने कुनै सुलभ माध्यम नहुनु राज्यले सुदूरपश्चिमलाई गरेको उपेक्षाको पराकाष्ठा हो,’ स्थानीय सन्तोष जोशी भन्छन् ।
पाटन विमानस्थल नियमित सञ्चालन गर्न र काठमाडौँ–बैतडी सीधा बस सेवालाई व्यवस्थित बनाउन पटक–पटक स्थानीय तह र सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप बढेको समयमा समेत सडक र हवाई यातायातको यस्तो दुर्दशाले सुदूरपश्चिमको विकटतालाई झन् उजागर गरिदिएको छ । सरोकारवाला निकायले समयमै ध्यान नदिए नागरिकले थप सास्ती भोगिरहनुपर्ने निश्चित छ ।

