मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो । पृथ्वीबाट निर्माण सामग्री लैजान लाग्ने अत्यधिक खर्च र मङ्गल ग्रहको माटो पगालेर ईट्टा बनाउन आवश्यक पर्ने उच्च ऊर्जाको समस्यालाई समाधान गर्न वैज्ञानिकहरूले एक नवीन विकल्प प्रस्तुत गरेका छन् ।
हङकङका वैज्ञानिकहरूले वंशाणुगत रूपमा परिवर्तन (जेनेटिकली इन्जिनियर) गरिएको ‘इस्ट’, जिलाटिन र बालुवाको मिश्रणबाट मङ्गल ग्रहका लागि उपयोगी थ्रिडी प्रिन्टिङ जैविक निर्माण सामग्री विकास गरेका छन् । अन्तर्राष्ट्रिय जर्नल सेल प्रेस को ‘केम सर्कुलारिटी’मा प्रकाशित अध्ययन अनुसार यो जैविक सामाग्रीले बालुवाका कणहरूलाई मजबुतसँग जोड्ने काम गर्छ ।
प्रविधिको मुख्य विशेषता र क्षमता
उच्च मजबुती – यो सामग्रीको कम्प्रेसिभ स्ट्रेन्थ (दबाब सहन सक्ने क्षमता) करिब १२ मेगापास्कल मापन गरिएको छ । यो सामान्य नियन्त्रित सामाग्रीको तुलनामा १७० प्रतिशतले बढी हो र परम्परागत निर्माण सामग्रीको दायरामै पर्छ ।
कम ऊर्जा खपत – मङ्गल ग्रहमा परम्परागत प्रविधिबाट एक हजार डिग्री सेल्सियसभन्दा बढी तापक्रममा माटो पगाल्न कैयौँ दिन लाग्छ । तर, एक क्युबिक मिटर जैविक सामग्री उत्पादन गर्न सौर्य प्यानलबाट एक घण्टाभन्दा कम समयको ऊर्जा मात्र खर्च हुन्छ ।
पुनः प्रयोग गर्न सकिने – यस सामग्रीलाई धुलो पारेर, पुनः पानी मिसाई हल्का तताएर चौथो पुस्तासम्म प्रयोग गर्दा पनि यसले ११.८ मेगा पास्कलको मजबुती कायम राख्छ ।
मङ्गल ग्रहको वातावरणमा सफल परीक्षण
हङकङ साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीका प्राध्यापक किउ जिसिन र हङकङ पोलिटेक्निक युनिभर्सिटीका वैज्ञानिकहरूको टोलीले यसको विकास गरेको हो । टोलीले मङ्गल ग्रहको वास्तविक वातावरण (माइनस ३० डिग्री सेल्सियस तापक्रम र ०.०१ एटमोस्फियर वायुमण्डलीय चाप) सिर्जना गरिएको विशेष च्याम्बरमा ४५ एमएम अग्लो र ३० एमएम व्यास भएको सानो स्तम्भ सफलतापूर्वक ३डी प्रिन्ट गरेको छ ।
मङ्गल ग्रहको कम चाप र चिसो हावापानीमा मिश्रणमा भएको पानी सुख्खा (फ्रिज – ड्राइंग) भई सामग्री कडा बन्दछ । यसमा प्रयोग गरिएको इस्टले सीप (मसेल फूट) जस्ता जीवहरूको टाँसिने प्रोटिन उत्पादन गर्छ, जसले संरचनालाई अझ बलियो बनाउँछ ।
पृथ्वीबाट सामाग्री ढुवानी र सम्भावना
यद्यपि, यो प्रविधि अझै पूर्णरूपमा आत्मनिर्भर छैन । एक क्युबिक मिटर सामाग्री बनाउन पृथ्वीबाट दश किलो कच्चा पदार्थ (मुख्यतः जिलाटिन र इस्टका लागि पोषक तत्व) लैजानुपर्ने हुन्छ । यदि भविष्यमा मङ्गल ग्रहमा उपलब्ध मिथेन, कार्बन डाइअक्साइड र हिउँलाई जिलाटिन वा पोषक तत्वमा बदल्न सकिएमा पृथ्वीबाट सामाग्री ओसार्नुपर्ने बाध्यता शून्यमा झर्ने वैज्ञानिकहरूको अनुमान छ । यस सामग्रीलाई मङ्गल ग्रहबाहेक पृथ्वीका दुर्गम क्षेत्रहरू, जस्तै अन्टार्कटिकाका अनुसन्धान केन्द्रहरू निर्माण गर्न समेत प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।
