२०८३ असोज २५ , आइतबार 11, October 2026, Sunday

फ्लाई दुबईका पाइलट माछरलाई नेतन्याहूले भने, ‘तपाईं विश्वकै हिरो’

फ्लाई दुबईको उडानमा ककपिटभित्र भएको कथित आक्रमणलाई विफल पार्ने भारतीय पाइलट क्याप्टेन स्मित माछरसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फोनमा कुराकानी गरेका छन् । शनिबार भएको कुराकानीमा नेतन्याहूले कठिन परिस्थितिमा माछरले देखाएको साहस, धैर्य र सुझबुझको प्रशंसा गर्दै उनलाई इजरायल, भारत र विश्वकै हिरो बताएका छन् ।

नेतन्याहूले माछर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी इजरायली स्वतन्त्रता दिवस समारोहमा सहभागी भएर मशाल प्रज्वलन गर्न निमन्त्रणा दिएका छन् । इजरायलको स्वतन्त्रता दिवसमा मशाल प्रज्वलन विशेष सम्मानका रूपमा लिइन्छ । फोन संवादका क्रममा माछरले विमानभित्र भएको घटनाबारे नेतन्याहूलाई जानकारी गराएका थिए ।

उनका अनुसार उडान सामान्य रूपमा सञ्चालन भइरहेको बेला सह–पाइलटले प्रार्थना गर्न जाने बताएका थिए । त्यसपछि उनी पछाडितर्फ गएका थिए । माछरका अनुसार करिब चारदेखि पाँच मिनेटपछि उनको टाउकोको पछाडिपट्टि अचानक जोडदार प्रहार भयो । सुरुमा विमानमा प्राविधिक समस्या आएको हुनसक्ने उनलाई लागेको थियो ।

तर लगातार आक्रमण भएपछि सह–पाइलटले नै आफूलाई प्रहार गरिरहेको उनले थाहा पाए । लगातारको आक्रमणका कारण आँखा अगाडि धमिलो देखिन थालेको र विमान तीव्र गतिमा तल झरिरहेको महसुस भएको माछरले बताएका छन् । उनले एकपटक ककपिटको ढोका खोल्न सफल भए पनि सह–पाइलटले पुनः बन्द गरिदिएको बताए ।

आफू ककपिटभित्रै लडिसकेको अवस्थामा पनि विमानमा रहेका यात्रुको ज्यान बचाउन ढोका खोल्नुपर्ने महसुस भएपछि उनले अन्तिम शक्ति लगाएर पुनः प्रयास गरेको बताएका छन् । अन्ततः ककपिटको ढोका खोल्न सफल भएपछि अन्य चालक दलका सदस्य र यात्रुहरूले भित्र प्रवेश गरी सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । घटना फ्लाईदुबईको एफजेड १०७३ उडानमा भएको थियो ।

दुबईबाट तेलअभिवतर्फ गइरहेको विमानमा १७४ यात्रु सवार थिए । घटनाका क्रममा विमानले आपत्कालीन संकेत पठाएको थियो भने करिब ३४ हजार फिटको उचाइबाट तीव्र गतिमा तल झरेको बताइएको छ । त्यसपछि विमानलाई साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराइएको थियो । घटनामा माछर गम्भीर रूपमा घाइते भएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि अबुधाबी लगिएको बताइएको छ ।

यसैबीच, द वाल स्ट्रिट जर्नलले घटनाबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै सह–पाइलट ओमानका नागरिक हमाम अल–हम्मामी रहेको उल्लेख गरेको छ । यद्यपि, फ्लाईदुबईले दुवै पाइलटको पहिचान सार्वजनिक रूपमा पुष्टि नगरेको केही रिपोर्टमा जनाइएको छ । घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी छ । माछरको साहसको प्रशंसा गर्दै नेतन्याहूले उनलाई आगामी इजरायली स्वतन्त्रता दिवस समारोहमा सम्मान गर्न चाहेको बताएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार