कञ्चनपुरकी २१ वर्षीया सुनिता विक दुई वर्षीय छोरालाई माइतीघरमै छोडेर बिहीबारदेखि सम्पर्कविहीन भएकी छन् । बेलौरी नगरपालिका–१० भुडा माइतीघरमा बस्दै आएकी सुनिता परिवारमा सामान्य विवाद भएपछि घरबाट निस्किएको परिवारले जनाएको छ ।
परिवारका अनुसार बिहीबार बिहान घरमा विवाद भएपछि उनका भाइले उनलाई हप्काएका थिए । त्यसपछि सुनिताले दुई वर्षीय छोरालाई माइतीघरमै छोडेर घरबाट निस्किएकी थिइन् । त्यसयता उनको अवस्था अज्ञात छ ।
परिवारले बेलडाँडी, पुनर्वास लगायतका स्थानमा रहेका आफन्त तथा चिनजानका व्यक्तिहरूकहाँ खोजी गरे पनि सुनिताको अवस्थाबारे जानकारी पाउन सकेको छैन । खोजीका लागि परिवारले प्रहरी चौकी भुडामा समेत जानकारी गराएको छ ।
शुक्रबार सुनिता घरनजिकैको उखुबारीमा रहेको आशंकामा परिवार र प्रहरीले त्यहाँ पनि खोजी गरेका थिए । तर, उनी फेला नपरेको उनका भाइ लोकेशले बताए । सुनिता चार दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ ।
दुई वर्षीय छोरा आमालाई खोज्दै रोइरहेको परिवारले जनाएको छ । लोकेशका अनुसार सुनिताले शुक्रबार राति आफ्ना भिनाजुलाई मेसेजसमेत पठाएकी थिइन् । तर, केही समयपछि उक्त मेसेज अनसेन्ड गरिएको थियो ।
त्यसपछि भने उनीसँग कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । सुनिताको विवाह भएको ६ वर्षभन्दा बढी भइसकेको छ । विवाहपछि उनी माइतीघरमै बस्दै आएकी थिइन् । उनका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेको परिवारले जनाएको छ ।

