२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

बाहिरिँदै मनसुन, दसैँमा बर्षाको सम्भावना न्यून

नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । नेपाल मौसम विज्ञान विभागले शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ ।

लुम्बिनी र गण्डकी प्रदेशको पश्चिम क्षेत्रबाट पनि धेरै मात्रामा मनसुन बाहिरिएको छ । देशका अन्य भूभागमा भने मनसुन क्रमशः कमजोर हुँदै गइरहेको विभागका मौसमविद् निष्ठा निरौलाले जानकारी दिए । मनसुन बाहिरिए पनि पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ ।

पूर्वी क्षेत्रको मौसम कमजोर त भएको छ तर पानी पर्न सक्ने सम्भावना पनि रहेको निरौलाको भनाइ छ, ‘मनसुन बहिर्गमन हुँदैमा पानी वर्षा रोकिन्छ भन्ने हुँदैन, पश्चिमी वायुको प्रभावले वर्षा हुन सक्छ ।’ मनसुनी वायु कमजोर हुँदै गइरहेको हुँदा आगामी दसैँमा झरी पर्ने सम्भावना भने नरहेको विभागको अनुमान छ ।

निरौलाले भने, ‘सामान्य रूपमा हेर्दा यदि मौसम फेरबदल नभए दसैँमा पानी पर्ने देखिँदैन ।’ विभागले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतः बादल लाग्ने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार