नेपालगन्जस्थित भेरी अस्पतालमा विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूले निःशुल्क औषधोपचार सेवा पाउने भएका छन् । नेपालमा भएका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेको निःशुल्क औषधोपचार गरेबापत अस्पताललाई शोधभर्ना दिने कार्यविधि, २०८२ अनुसार त्यस्ता घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले जानकारी दिए ।
उनका अनुसार जेनजी आन्दोलन, १० वर्षे सशस्त्र द्वन्द्व, जनआन्दोलन, तराई–मधेश आन्दोलन तथा विभिन्न प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूले भेरी अस्पतालबाट निःशुल्क औषधोपचार सेवा पाउनेछन् । डा.दर्नालका अनुसार २०५२ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वका घाइते, २०६२–०६३ को जनआन्दोलनका घाइते, प्राकृतिक प्रकोपका कारण घाइते भएका व्यक्ति तथा २०८१ चैत १५ गते काठमाडौँको तीनकुने प्रदर्शनमा घाइते भएकाहरूले उक्त सेवा पाउनेछन् ।
त्यसैगरी, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा विभिन्न प्राकृतिक प्रकोपका क्रममा घाइते भई अङ्गभङ्ग भएका व्यक्तिलाई पनि निःशुल्क औषधोपचार गरिने उनले बताए । उनका अनुसार जेनजी आन्दोलनका क्रममा भेरी अस्पतालमा २५ जना घाइतेको उपचार गरिएको थियो । निःशुल्क उपचार सेवा लिन सम्बन्धित घाइतेसँग गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको घाइते खुल्ने परिचयपत्र अनिवार्य हुनुपर्ने अस्पतालले जनाएको छ ।
‘वडा तथा स्थानीय सरकारको सिफारिसका आधारमा कार्यविधिअनुसार यो सेवा दिन सकिँदैन,’ डा. दर्नालले भने ‘निःशुल्क उपचारका लागि जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट जारी भएको परिचयपत्र अनिवार्य गरिएको छ ।’ घाइतेको उपचार व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउन अस्पतालले मेडिकल अधिकृत अनुपम सिंह थापालाई फोकल पर्सनको जिम्मेवारी तोकेको छ । फोकल पर्सनमार्फत आवश्यक समन्वय तथा उपचार व्यवस्थापनमा सहजीकरण गरिने अस्पतालले जनाएको छ ।
