राप्ती नदीमा निर्माण गरिएको तीन हजार १५० मिटरभन्दा बढी पक्की तटबन्धका कारण यो बर्खामा खासै क्षति हुन पाएन । तटबन्धका कारण बाँकेका तटीय क्षेत्रका गाउँबस्ती यस वर्षको बाढी र डुबानबाट जोगिएका छन् । विगतमा सामान्य पानी पर्दा पनि बाढी र डुबानको समस्या बेहोर्ने गरेका यहाँका बस्तीले यस वर्ष सुरक्षित महसुस गरेका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमहीका अनुसार गत आर्थिक वर्षमा राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा तीन हजार १५० मिटर पक्की र करिब चार सय मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । लगातार तीन दिन परेको भारी वर्षासँगै राप्तीमा पानीको बहाब बढे पनि तटबन्धका कारण नदीको पानी बस्तीमा पस्न नपाएको सो कार्यालयले दाबी गरेको छ ।
तटबन्ध निर्माणपछि राप्तीसोनारी गाउँपालिका–२ का कचनापुर, महादेवा र मदुई, वडा नं. ६ को फत्तेपुर तथा वडा नं. ७ को खल्लाझगडिया र नरैनापुर गाउँपालिकाका वडा नं. ५ र ६ का बस्ती सुरक्षित भएका हुन् । आयोजना कार्यालय लमहीका प्रमुख निश्चल छत्कुलीले जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएको पक्की तटबन्धले यस वर्ष तटीय बस्तीलाई बाढी र डुबानबाट जोगाएको बताए ।
उनले भने, ‘गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यस वर्ष धेरै गाउँबस्ती सुरक्षित भएका छन् । विगतमा सामान्य वर्षामा पनि डुबानमा पर्ने क्षेत्र यो वर्षको भारी वर्षामा पनि सुरक्षित भए ।’ गत आवमा राप्तीसोनारी–२, कचनापुरमा एक हजार २०० मिटर, वडा नं. ५ बिनौनामा एक हजार ३०० मिटर, वडा नं. ७ खल्लाझगडियामा ५०० मिटर र वडा नं. ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ । जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब चार सय मिटर अस्थायी नदी नियन्त्रणको कामसमेत गरिएको थियो ।
