२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

दाउन्ने बस दुर्घटना, मृतक ६ को, १० जना घाइते

नवलपुरको विनयी त्रिवेणी–२ स्थित दाउन्नेको एस मोडमा शनिबार बिहान भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृतक पाँच जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा ज्यान गुमाउनेहरूमा कोहलपुर नगरपालिका–१० बाँकेका ५५ वर्षीय एकेन्द्रराज रेग्मी, कोहलपुर नगरपालिका–३ बाँकेका ३२ वर्षीय दीपेन्द्र केसी छन् ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–७ बाँकेका २२ वर्षीय कृष कनौजिया, भेरीगङ्गा नगरपालिका–३ जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, स्वामीकार्तिक खापर गाउँपालिका बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने अन्दाजी ४०–४२ वर्षका एक पुरुषको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा चालकसहित १८ जना सवार थिए, जसमध्ये दुई जना सकुशल रहेका छन् । घाइतेमध्ये बाँकेका अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको (रिफर) गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको सूची र अवस्था

१. अस्लाम भगवान (४८ वर्ष), नेपालगन्ज उ.म.न.पा.–१६, बाँके – टाउकोमा चोट (गम्भीर, चितवन रिफर)
२. हरिशरण थापा (३० वर्ष), गोरखा न.पा.–९, गोरखा – अवस्था मध्यम (बोल्न सक्ने)
३. तेजेन्द्रप्रसाद भण्डारी (२८ वर्ष), मंगलसेन न.पा.–६, अछाम – भित्री चोट (अवस्था मध्यम)
४. आकृती थारु (२० वर्ष), ठाकुरबाबा न.पा.–१, बर्दिया – अनुहार, खुट्टा र कम्मरमा चोट (अवस्था मध्यम)
५. पवन बुढा (३२ वर्ष), स्वामीकार्तिक गा.पा.–५, बाजुरा – अनुहार र बायाँ हातमा चोट (अवस्था मध्यम)
६. अनोज खत्री (२९ वर्ष), कोन्ज्योसोम गा.पा.–५, ललितपुर – टाउकोमा चोट (अवस्था मध्यम)
७. लालबहादुर कार्की (३६ वर्ष), बाँसगढी न.पा.–७, बर्दिया – कम्मर र टाउकोमा चोट (अवस्था मध्यम)
८. सञ्जय थारु (२८ वर्ष), राजापुर न.पा.–९, बर्दिया – अनुहार र दुवै हातमा चोट (अवस्था सामान्य)
९. प्रेम बम (२५ वर्ष), स्वामीकार्तिक गा.पा.–१, बाजुरा – कम्मरमा चोट (अवस्था सामान्य)
१०. अनिल बुढाथोकी (२१ वर्ष), वनगाड कुपिण्डे न.पा.–१, सल्यान – बायाँ हातमा चोट (अवस्था सामान्य)

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार