आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको बताए ।
‘हाम्रो पुर्ख्यौली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो तर अहिले बिक्री नै हुँदैन,’ उनले भने, ‘अहिले घर–घरमा मिक्सर चलाउने भएकाले सिलौटा र जाँतो कसैले पनि किन्दैनन् ।’ सिलौटा र जाँतो बनाउने ढुङ्गा लगायतका कच्चा पदार्थ भारतबाट किन्नुपर्ने बाध्यता रहेको छ । भारतबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नाकामा समस्या हुने गरेको उनले बताए ।
कच्चा पदार्थको अभाव तथा तयार भएका मालसामान सजिलै बिक्री हुन छोडेपछि युवापुस्ता अन्य कामको खोजीमा सहर पस्ने गरेको उनले बताए । कुचबधिया बस्तीकी मीना कुचबधियाले भनिन्, ‘हिजोआज सिलौटा र जाँतो बिक्री हुँदैन, सबैले मसला पिस्ने मिक्सचर छ भन्छन्, रित्तो हात फर्कनुपर्छ ।’ कुचबधिया समुदायका पुरुष सिलौटा, जाँतो बनाएर बिक्री गर्छन् ।
महिला भने घरघरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गर्दछन् । दिनभरि डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम गरेबापत पाउने चामल र दालबाट छाक टार्न मुस्किल भएको उनको भनाइ छ । जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित कुचबधिया बस्तीका अगुवा पटवारी कुचबधिया दिनभरि सिलौटा, जाँतो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्किल हुने भएपछि अहिले नयाँ पुस्ताले पुख्र्यौली पेसा छोडेर मजदुरी गर्न थालेको बताए ।
‘जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सचर उपलब्ध भयो । सनपाटका डोरी छोडेर प्लास्टिकको डोरी लिन थाले, हाम्रो मेहनत कसैले बुझ्दैनन्,’ पटवारीले भने, ‘अब हाम्रो पेसा बन्द हुँदै गएको छ ।’ उनका अनुसार सिलौटा र जाँतो बनाउने ढुङ्गा नेपालमा नपाइने भएकाले भारतको बहराइचबाट किनेर ल्याउनुपर्छ । ढुङ्गालाई काँटछाँट गरेर मेहनतका साथ कलात्मक बनाएर बिक्रीका लागि गाउँ–गाउँ पुगे पनि बिक्री हुँदैन ।
एउटा सिलौटा बनाउने ढुङ्गाको भारु १५० पर्छ । बनाइसकेपछि रु चार–पाँच सयमा बिक्री गर्न पनि समस्या भएको अगुवा पट्वारीले बताए । पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएपछि अहिले उनीहरू सामाजिक सुरक्षा भत्ताबाट जीविकोपार्जन गर्दै आएका छन् । जनजातिभित्रको लोपोउन्मुख जाति मानिने कुचबधिया–पथरकट्टा समुदायका प्रत्येक सदस्यले सरकारबाट प्रतिमहिना रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
इन्द्रपुरस्थित कुचबधियाबस्तीका २७५ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको जानकी गाउँपालिका–३ का सचिव लालबहादुर रानाले जानकारी दिए । उनका अनुसार, बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर, नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र नेपालगन्ज–२० गायत्रीनगरमा कुचबधिया समुदाय बस्दै आएका छन् । विसं २०७८ को जनगणना अनुसार कुचबधिया–पत्थरकट्टा समुदायको जनसङ्ख्या तीन हजार ३४३ रहेको छ ।
