२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि फ्लाई दुबईको विमान डाइभर्ट

यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६०० फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांक अनुसार यो घटना स्थानीय समयअनुसार राति करिब १ बजेर २० मिनेटमा भएको थियो ।

त्यसको करिब १२ मिनेटपछि विमानबाट आपतकालीन संकेत पठाइएको थियो । घटनापछि विमानलाई साउदी अरेबियातर्फ मोडिएको हो । इजरायली अधिकारीले यो घटना विमान अपहरण नभएको बताएका छन् ।

उनीहरूका अनुसार विमानभित्रकै कर्मचारीबीच भएको घटनाका रूपमा यसलाई बुझिएको छ । आपतकालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए ।

इजरायली रक्षा बल (आइडीएफ)का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो । फ्लाई दुबईको विमान केही समयमै साउदी अरेबियामा अवतरण गर्ने अपेक्षा गरिएको छ । घटनाबारे फ्लाई दुबईको प्रतिक्रिया लिन सीएनएनले सम्पर्क गरेको जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार