नदीभरी मान्छे छन्, कोही जाल, कोही टापी लिएर । उनीहरुबिच तछाडमछाड चलिरहेको छ मानौं कुनै ठुलै प्रतियोगिता चल्दैछ । कञ्चनपुरको दोदा नदीमा देखिएको यो दृश्य स्थानीयले माछा मार्दै गरेको हो । माछा पारखी थारू समुदायका मानिसले नदीनालामा माछा मार्नु नौलो विषयवस्तु होइन, तर उनीहरु सामूहिक रुपमा यसरी तछाडमछाड गरेर माछा मार्नु अहिलेको पुस्ताका लागि नौलो दृश्य नै हो ।
चुरे हुँदै कञ्चनपुर भएर बग्ने दोदा नदी तलतिर भारतमा गएर शारदा नदीमा मिसिएको छ । ठुलो नदीमा मिसिएको दोदामा बर्खा याममा हरेक वर्ष कुनै विशेष समयमा माछाको लहर चल्ने गरेको छ । त्यही बेला दोदामा माछा मार्नका लागि कैलाली, कञ्चनपुरका स्थानीयले तछाडमछाड गर्दैआएका हुन । यसै साता नदीमा माछाको लहर (थारु भाषामा साइ चलेको) चलेपछि दोदामा अत्यधिक मान्छे सामूहिक रुपमा माछा मार्नका लागि ओइरिएका छन् ।
माछा मार्नका लागि धनगढीको बोराडाँडीबाट दोदा नदी पुगेका भैया रानाले यस्तो दृश्य हरेक वर्ष देख्ने गरेको बताए । उनका अनुसार शारदा नदी अर्थात तल्लो क्षेत्रबाट ठुलो संख्यामा माछा माथितिर आउन थालेपछि माछा मार्नका लागि स्थानीयको दौडधुप हुने गर्दछ । राना भन्छन्, ‘यसरी माछा चल्यो भने यहाँ हजारौं मान्छे माछा मार्नका लागि नदीमा ओइरिने गर्दछन् । यस्तो बेला धेरै माछा मारिन्छ ।’
माछा चलेको बेला दोदा नदीमा पर्वजस्तै रमाइलो हुने गरेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार दोदा नदीको पुलभन्दा तलतिर र परासन क्षेत्रभन्दा माथितिर नदीमा मान्छे भरिने गरेका छन् । पुरुष, महिला, युवायुवती माछा मार्न ओइरिने गरेको पुनर्वास नगरपालिका–१० का खिद्दु रानाले बताए । माछा परेपछि एकै व्यक्तिले १०–१२ केजीसम्म साना माछा मार्ने गरेको जनाइएको छ ।
माछा चलेपछि धनगढी, बेलौरी, अत्तरियालाई केन्द्र बनाएर माछाको व्यापार गर्ने मछुवाहरु पनि दोदामै माछा मार्न पुग्ने र व्यापार गर्ने गरेका छन् । व्यावसायिक रुपमा माछा मार्ने मछुवा अविनाश साहनीले दोदा नदीमा माछा चलेपछि एकै चोटी जाल हान्दा पनि दुई केजीसम्म माछा फस्ने गरेको बताए । उनी भन्छन्, ‘यहाँ माछा चलेपछि चाडपर्वजस्तै रमाइलो हुने गर्दछ । हामीले पनि धेरै माछा मार्ने गरेका छौं । कोही त रमाउनकै लागि पनि यहाँ आउने गरेका छन् ।’
