पछिल्लो समय नेपालमा मुटुरोगको समस्या युवावस्थामै देखिन थालेको छ । ३३ वर्षीय विकास शर्माको गत वैशाख महिनामा धुमधामसँग विवाह गर्ने तयारी हुँदै थियो । भक्तपुरमा बसोबास गर्दै आएका शर्माको फागुनमा निधन भयो । राति ११ बजेसम्म परिवारसँग टेलिभिजन हेरेर सुतेका शर्मा बिहान ९ बजेसम्म पनि नउठेपछि आमा बोलाउन गइन् ।
छोरालाई जति बोलाउँदा पनि नबोलेपछि ढोका फोरेर हेर्दा विकासको मृत शरीर मात्र थियो । पोस्टमार्टम गर्दा उनको हृदयाघात भएर मृत्यु भएको पत्ता लाग्यो । यो एउटा उदाहरण मात्र हो । विश्वमा अचानक मृत्यु हुनुको प्रमुख कारण हृदयाघात एक नम्बरमा रहेको छ । मुटुमा रगत प्रवाह गराउने कोरोनरी धमनी साँघुरिने तथा बन्द हुने समस्या लिएर कम उमेरका बिरामी अस्पताल पुग्ने क्रम बढेको छ ।
मनमोहन कार्डियोभास्कुलर थोरासिक तथा भास्कुलर सेन्टरका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलका अनुसार हाल मुटुरोग ३०–४० वर्षकै उमेरमा देखिन थालेको छ । डा.गजुरेलले २४ वर्षका बिरामीसमेत हृदयाघातको समस्या लिएर उपचारका लागि आउने गरेको तथ्य सुनाए । ‘पहिले मुटुरोगलाई उमेरसँग जोडेर हेरिन्थ्यो,’ गजुरेलले भने, ‘अहिले ३० वर्षदेखि नै कोरोनरी धमनीको समस्या देखिन थालेको छ ।’
उनका अनुसार ४० देखि ६० वर्ष उमेर समूहमा हृदयाघातका बिरामी बढी देखिने गरेका छन् । ३० देखि ४० वर्ष उमेर समूहमा पनि मुटुरोग (कोरोनरी धमनी) सम्बन्धी समस्या बढिरहेको छ । डा.गजुरेलले नसर्ने रोगमध्ये मुटुरोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिँदै गएको जानकारी दिए । उनले मुटुरोगमध्ये हृदयाघात गराउन सक्ने प्रमुख समस्या कोरोनरी धमनी रोग भएको जानकारी दिए ।
उनका अनुसार मुटुको मांसपेशीमा रगत र अक्सिजन पुर्याउने कोरोनरी धमनीमा बोसो तथा अन्य पदार्थ जम्मा हुँदै गएपछि धमनी साँघुरिने गर्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले मोटोपन, उच्च रक्तचाप, मधुमेह र रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु मुटुरोगको सङ्केत भएको जानकारी गराए । यी अवस्थाले कोरोनरी धमनीमा बोसो जम्ने प्रक्रिया बढाएर हृदयाघातको जोखिम बढाउन सक्ने उनको भनाइ छ ।
नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष डा.चन्द्रमणि अधिकारीले हृदयाघात मृत्युको प्रमुख कारण रहे पनि हाल प्रादेशिक अस्पतालमा समयमै पुग्ने बिरामीले समेत आवश्यक उपचार नपाउने अवस्था रहेको बताए । यसैबीच मङ्गलबार विश्व मुटु दिवस मनाइएको छ । नेपालमा विभिन्न जनेचतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाइयो ।
