२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

क्यान्सर अस्पतालको बन्द रेडियोथेरापी सेवा सुरु, बिरामीलाई सहज

विगत छ महिनादेखि बिग्रिएर बन्द रहेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिन मर्मतसम्भारपछि सञ्चालनमा आएको छ । मेसिन सञ्चालनपछि रेडियोथेरापी सेवा पूर्ववत् रूपमा सुरु भएको छ ।

क्यान्सरका बिरामीको उपचारको प्रमुख केन्द्र बन्दै गएको सो क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण करिब छ महिनादेखि बन्द अवस्थामा थियो । रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै यहाँका क्यान्सर बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था धेरै हटेको अस्पतालले जनाएको छ ।

लामो समयदेखि बिग्रिएको सो अस्पतालको लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि यसै साताबाट सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी डा.प्रवीणकुमार गुप्ताले बताए । उनका अनुसार क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण विधि मानिन्छ । लिन्याकबाट क्यान्सर प्रभावित भागमा आवश्यक मात्रामा विकिरणकेन्द्रित गरेर उपचार गरिन्छ ।

ब्रेकिथेरापीमा भने उपचार गर्नुपर्ने स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिने गरिन्छ । दुवै उपकरण सञ्चालनमा आएपछि उपचारका लागि आउने बिरामीलाई अब अन्य क्यान्सर अस्पतालमा जान नपर्ने भएको अस्पतालका निर्देशक डा.नीरज भट्टराईले बताए ।

अस्पतालमा रेडियोथेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी र भिडियो एक्सरे लगायतका सेवा सञ्चालनमा छन् । गम्भीर अवस्थाका बिरामीका लागि आइसियु, भेन्टिलेटर तथा निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार